सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तोकुतेई गिनोउ भिषाको अवधी थप्ने सम्भावना

जापानका अध्यागमन अधिकारीहरूले सोमबार, दक्ष कामदार भिसाको दायरा विस्तार गर्ने प्रस्ताव गरेका छन् । यो प्रस्तावले जापानमा आउने तथा आएका विदेशी कामदारहरुलाई अनिश्चितकाल (कामदार/कम्पनीले चाहेसम्म) सम्मका लागि रहन अनुमति दिनेछ ।

जापानमा निर्दिष्ट दक्ष कामदार भिसा (SSW) अन्तर्गत आउनेहरुका लागि बस्न पाउने समय अबधी तोकिएको छ । यो प्रस्ताव, मुलुकमा कायम श्रम अभावको मानव संसाधन सुरक्षित गर्न खोज्ने व्यवसायी समुदायको आह्वानको प्रतिक्रियामा आएको हो ।

लिबरल डेमोक्र्याटिक पार्टीसँगको बैठकमा भएको प्रस्तावलाई सत्तारुढ गठबन्धनले अनुमोदन गरेमा मन्त्रिपरिषद्ले जुनको अन्त्य सम्ममा कार्यान्वयनका लागि औपचारिक निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।

Japan Worker

जापानले परम्परागत रूपमा विदेशी कामदारहरूप्रति संकुचित नीति लिँदै आएको छ । जसको परिणाम स्वरूप कडा अध्यागमन नीतिहरू कार्यान्वयनमा रहेका छन् । तर पछिल्ला केही वर्ष यता बढ्दो श्रम अभाव तथा प्रशिक्षार्थी कामदार भिसा प्रणालीमा देखिएका समस्याहरुका कारण, अब जापानले निर्दिष्ट दक्ष कामदारहरुलाई अनिश्चित समयका लागि जापान रहन सक्ने व्यवस्था कार्यन्वयन गर्न लागेको बुझिएको छ ।

जापानी भाषा र व्यावसायिक सीप भएका विदेशीहरूलाई निर्दिष्ट दक्ष कामदार नम्बर १ भनिने आवासीय स्थितिको लागि आवेदन दिन अनुमति दिनेछ, जसले निर्माण, खेती र नर्सिङ लगायत १२ क्षेत्रमा पाँच वर्षसम्म काम गर्ने अधिकार दिन्छ ।

यस्तो १२ वटा क्षेत्र मध्ये हाल, निर्माण तथा जहाज निर्माणका निर्दिष्ट दक्ष कामदारहरुले नम्बर २ को हैसियत प्राप्त गरेर आफ्नो बसाइ लम्ब्याउन सक्छन् भने, त्यस बाहेकका अन्य क्षेत्रमा काम गर्नेहरुले तोकिएको समय ५ वर्षभन्दा बढि रहन पाउने छैनन् । तर अव यो प्रस्ताव कार्यान्वयन भए, यसलाई थप ९ क्षेत्रमा विस्तार हुनेछ ।

नम्बर २ स्थितिले विदेशी कामदारहरुलाई परिवारका सदस्यहरू ल्याउन अनुमति दिनुका साथै भिसा कति पटक नवीकरण गर्न सकिन्छ भन्नेमा कुनै सीमा रहने छैन । अर्थात तोकुतेई गिनोउ नम्बर २ प्रकारको भिषामा कामदार तथा कम्पनीले चाहेसम्म जापान रहन सक्नेछन् ।

अध्यागमन बिभाग जापानका अनुसार नम्बर तोकुतेइ गिनोउ नम्बर १ भिसा अन्तर्गत जापानमा बस्ने विदेशीहरूको सङ्ख्या फेब्रुअरीको अन्त्य सम्ममा कुल १ लाख ४६ हजार जना रहेकोमा १० जनाले मात्रै तोकुतेइ गिनोउ नम्बर २ अर्थात अनिस्चितकालिन आवासीय हैसियत पाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्