सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शनिवारदेखि कोभिडसम्बद्ध प्रतिबन्ध हटाउँदै जापान

आगामी शनिबारबाट जापानले कोरोना भाइरसको महामारी फैलिन नदिन सीमापारबाट आउने यात्रीहरुमाथि लगाएको सबैखाले प्रवेश प्रतिबन्ध हटाउने तयारी गरेको छ । जापानको सरकारी सञ्चार माध्यम एनएचकेमा प्रकासित समाचार अनुसार कानूनी रुपमा कोभिडको वर्गिकरण घटाउनु अघि नै यस्तो गर्न लागिएको हो ।

यसअघि भने जापान सरकारले मे ८ देखि सिमापारबाट आउने यात्रीहरुमाथी लगाइएका प्रतिबन्धहरु हटाउने घोषणा गरेको थियो । सोही दिन देखि जापानमा कोभिडलाई मौसमी रुघाखोकीकै श्रेणीमा पुनः वर्गिकरण गरेर भाइरसको सबैभन्दा न्यून ५औं श्रेणीमा झार्न लागिएको थियो । तर समाचारमा उल्लेख गरिए अनुसार जापान सरकारले अहिले भने सीमा नियन्त्रण अन्त्य गर्ने मितिलाई अगाडि सार्ने तयारी गरिरहेको छ ।

Japan airport

हाल जापान छिर्ने मानिसलाई आफूले कोभिड विरुद्धको खोपको तीन ओटै मात्रा लगाएको प्रमाण देखाउनु पर्ने नियम लागु गरिएको छ । सरकारले मुख्य भूमि चीनबाट प्रत्यक्ष उडानबाट जापान आउने सीमित संख्याका यात्रीहरुलाई र्यान्डम तरिकाले परीक्षण गर्न लगाउने व्यवस्था पनि खारेज गर्ने अपेक्षा गरिएको छ ।

जापानमा यही हप्ता देखि गोल्डन विकको सार्वजनिक बिदा शुरु हुँदैछ । यो छुट्टी मे ७ सम्म चल्छ । यो अवधिमा विदेश यात्रामा जाने जापानीहरुको संख्या बढ्ने अनुमान छ । यसलाई विष्लेशकहरुले सरकारले विदेश घुमेर स्वदेश फर्किने जापानीहरुका लागि प्रक्रिया सरल बनाउन खोजेको रुपमा अथ्र्याएका छन् ।

प्रतिबन्धहरु हटाएपछि पनि ज्वरो वा रुघाखोकी देखिएका यात्रीहरुको भने स्वेच्छिक रुपमा स्वास्थ्य चेक जाँच भने गरिने अधिकारीहरुले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्