सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा आकस्मिक गर्भनिरोध चक्की खुला ?

जापानमा अधिकांश मानिस औषधि पसलहरुमा गर्भनिरोधको आकस्मिक चक्कीको खुला विक्रीको पक्षमा रहेका छन् । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले औषधि पसलका काउन्टरमा सिधैं चक्की बेच्नेबारे सर्वसाधारणहरुको राय बुझेको थियो । सो प्रस्तावलाई ९७ प्रतिशतले समर्थन गरेका छन् ।

मन्त्रालयले मर्निङ–आफ्टर पिलको व्यवसायिकीकरणबारे छलफल गर्न विज्ञहरुको बैठक बोलाउने विचार गरिरहेको छ । जापानमा यस्ता चक्की किन्न अहिले भने डाक्टरको प्रेस्क्रिप्शन चाहिन्छ । तर आफू बसेको स्थान नजिक गाइनाकोलोजिष्टको क्लिनिक नभएको वा डेट रेप वा अन्य अपराधिक गतिविधिको शिकार भएको लगायत कारण केही महिलाहरु स्वास्थ्य संस्थामै गएर डाक्टरको प्रेस्क्रिप्शन लिन नसक्ने अवस्थामा हुन्छन् ।

मन्त्रालयले गर्भनिरोध चक्कीको औषधि पसलहरुमा खुला विक्रीबारे सन् २०२२ को डिसेम्बरदेखि सन् २०२३ को जनवरीसम्ममा सर्वसाधारणहरुको राय संकलन गरेको थियो । संकलन गरिएको ४६ हजार ३०० रायमध्ये करीब ४५ हजार चक्कीको व्यवसायिकीकरणको पक्षमा थिए । यो भनेको झन्डै ९७ प्रतिशत हो । करीब ३०० राय मात्रै सोको विरोधमा थियो ।

आकस्मिक गर्भनिरोधको चक्की यौन अपराध र यौंन हिंसाका पीडितहरुले मात्रै प्रयोग गर्छन् भन्नु नै गलत भएको एक जनाको राय थियो । जापान सरकारले सन् २०१७ मा पनि गर्भनिरोधक चक्कीको व्यवसायिकीकरणको प्रयास गरेको थियो । तर यसको दुरुपयोग र गलत प्रयोग हुने चिन्ता अनि यस्ता चक्कीको प्रभावहिनतालाई औंल्याउँदै सो योजना थाँती राखियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्