सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

युक्रेन–रुस युद्ध अन्त्यका लागि चिनियाँ मध्यस्थता !

एक वर्षभन्दा लामो समयसम्मको द्विपक्षीय प्रत्यक्ष सञ्चारको रिक्ततालाई तोड्दै गत अप्रिल २६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच फोनवार्ता भयो । उक्त फोन संवादका क्रममा दुई नेताबीच चीन-युक्रेन सम्बन्ध तथा युक्रेन संकटका विषयमा छलफल भएको चीनले जनाएको छ । तथापि विश्व समुदायले भने उक्त संवादको घटनालाई युक्रेनमा शान्ति स्थापकको रुपमा अगाडि बढ्ने चीनको प्रयासको रुपमा हेरेको छ ।

उक्त संवादलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्वीट गर्दै लेखे-राष्ट्रपति सी जिनपिंगसँग लामो र अर्थपूर्ण टेलिफोन संवाद भयो । यो संवादका साथै चीनका लागि युक्रेनी राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा शक्तिशाली गति प्राप्त हुने विश्वास छ ।

त्यसबारेमा उनले आफ्नो टेलिग्राम च्यानलमा समेत थप जानकारी दिंदै कुराकानीका क्रममा युक्रेनमा न्यायपूर्ण तथा दिगो शान्ति स्थापनाका लागि सम्भावित सहकार्यका मार्गहरुका विषयमा विशेष ध्यान दिइएको बताए ।

Xi Jinping China President

उक्त फोन संवादको मूर्त नतिजाको रुपमा युरेसियन मामिलासम्बन्धी चिनियाँ विशेष प्रतिनिधि युक्रेनमा नियुक्ति गर्ने कुराको पुष्टि चिनियाँ राष्ट्रपतिले गरे । जसले युक्रेन संकटको राजनीतिक समाधानका लागि सबै पक्षसँग गहन संवाद गर्नेछ । यसले के संकेत गर्दछ भने चीन आफ्नो मध्यस्थकर्ताको भूमिकाका लागि गम्भीर छ र त्यसका लागि अहिले उपयुक्त समय रहेको ठहर गरेको छ । त्यसका लागि पश्चिमा गठबन्धनमा बढिरहेको तनाव तथा युक्रेनी प्रतिरोधको सफलताका बारेमा रहेको आशंका पनि कारण हुन सक्दछ ।

पछिल्लो चिनियाँ कदम बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सम्बन्धप्रति बेइजिङको चासोका साथै शक्ति सम्बन्ध बदल्ने चिनियाँ क्षमताको सूचक पनि हो । तत्कालका लागि चिनियाँ चासोको विषय भनेको युरोपेली युनियनसँग उसको सम्बन्ध हो । युरोपेली युनियनका सदस्य राष्ट्रहरुका लागि युक्रेनको युद्ध र यसको थप वृद्धि निकै महत्वपूर्ण सुरक्षा चासोको विषय हो । त्यसैले रुसलाई होसमा ल्याउनका लागि मस्कोमाथि आफ्नो प्रभावको प्रयोग गर्न युरोपेली अधिकारीहरुले पटक पटक बेइजिङसँग अनुरोध गर्ने गरेका छन् । फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोंले हालै आफ्नो चीन भ्रमणका क्रममा यस्तो आग्रह गरेका थिए ।

त्यस्तै इयूका अन्य वरिष्ठ अधिकारीहरुले पनि युक्रेन युद्धका विषयमा चिनियाँ धारणाले भविष्यमा चीन-इयूबीचको सम्बन्ध निर्धारण गर्ने बताएका छन् । यस्तो विचार व्यक्त गर्नेमा युरोपेली आयोगकी अधयक्ष उर्सुला भोन डेर लेयेन देखि युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिचेललगायतका छन् । आर्थिक रुपमा चीन र इयू एक अर्काका लागि महत्वपूर्ण रहेको तथ्य बुझेका दुवै पक्ष दीगो तथा रचनात्मक सम्बन्ध कायम गर्न चाहन्छन् ।

वास्तवमा चीन र युरोपेली संघबीचको सम्बन्ध भनेको पश्चिमा जगत र चीनबीचको सम्बन्धको एक हिस्सा हो । अहिले त्यो सम्बन्ध केही खुल्ने क्रममा रहेको देखिन्छ । अमेरिकी वित्तमन्त्री जेन येलेनले यस विषयमा बोल्दै शक्ति राष्ट्रहरुबीच सम्बन्धको रेखा तय गर्ने काम निकै कठिन हुन्छ । तर यदि चीनले आफ्नो भूमिका निर्वाह गर्यो भने बेइजिंग र वाशिंटनले अगाडिको बाटो पत्ता लगाउनेछन् ।

सी-जेलेन्स्की फोन संवाद युक्रेन युद्धको प्रभावकारी व्यवस्थापनका र अन्ततः शान्ति स्थापना गर्ने सचेत रणनीतिको रुपमा पनि देखिन्छ । यद्यपि यसले चीन र पश्चिमा विश्वबीचको समबन्धका बारेमा रहेका सबै विवादास्पद मामिलाहरुको समाधान गर्नेछैन । तथापि यसले तत्कालीन चासोका विषयहरुको सूचीबाट एउटा खास समस्याग्रस्त विषयलाई हटाइदिनेछ ।

यसबेला चीनले पश्चिमा विश्वसँगको आफ्नो महाशक्तिको प्रतिस्पर्धामा रुसलाई आफ्नो लाभमा उपयोग गर्न चाहन्छ । त्यसैले सी ले आफ्नो पुटिनसँगकेा साझेदारीलाई त्याग्ने सम्भावना देखिंदैन । तर चीनले नियन्त्रण गर्न सकिने रुस चाहन्छ, जसका लागि युक्रेन युद्ध रोकिनु आवश्यक छ जुन अहिलेको अवस्थामा झनै वृद्धि हुने खतरासमेत देखिन्छ । युक्रेन संकटका विषयमा रुसलाई मनाउन सकेमा सीले युरोपको स्थायित्व र सुरक्षाको निर्विवाद प्रत्याभूतिकर्ताको रुपमा चीनलाई बलियोसँग स्थापित गर्न सक्नेछन् ।

पश्चिमका लागि जोखिम

यदि चिनियाँ प्रयासलाई ब्रसेल्स तथा अमेरिकामा शंकाको लाभ दिइयो र त्यसले किभ र मस्कोमा समेत सफलता हात पार्यो भने यसले बेइजिङलाई नयाँ युरेसियन सुरक्षा सम्बन्धको स्थापनाको सुरुवात गर्ने मुख्य अवसर प्रदान गर्नेछ । पश्चिमा विश्वसँग रुसी सेनालाई रोक्ने तथा रुसलाई आर्थिक रुपमा एक्लाउने क्षमता वा चाहना भए पनि सीले भने पुटिनलाई राजनीतिक रुपमा व्यवस्थापन गर्न मुख्य भूमिका खेल्नेछन् । अर्को शब्दमा भन्नुपर्दा बेइजिङको आँकलन के हुनसक्छ भने युरोपको स्थायित्व र सुरक्षा पुनर्प्राप्तिका लागि चीनको सहकार्य आवश्यक हुनेछ। यसले नाटोले अबलम्बन गरेको आन्ध्रमहासागरपार सुरक्षा सम्बन्धको महत्व पनि घटाउने छैन । तथापि यसले युरोपेली अर्डरको आयाममा आधारभूत परिवर्तन आएको र त्यसभित्र चीनको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको तथ्य स्थापित हुनेछ ।
युक्रेनमा जारी युद्धलाई वार्ता तथा सम्झौता मार्फत् अन्त्य गर्नका लागि केवल केही लामो समयमात्र होइन बेइजिंगको मध्यस्थता पनि अपर्याप्त हुन सक्दछ ।

तथापि स्थिर युद्धविरामको रुपमा मात्र भए पनि उक्रेनमा लडाइँको अन्त्य हुनुले चीनलाई लाभ मिल्नेछ । यस्तो अन्तरिम प्रतिफलले युक्रेनलाई अन्न निर्यात गर्न अनुमति दिने कृष्णसागर सम्झौता लम्बिन सक्दछ जसबा वैश्विक खाद्यान्न संकट केही कम हुनेछ । यसले विकासशील विश्वमा चिनियाँ प्रभाव तथा नेतृत्वलाई सुदृढ गर्नुका साथै नयाँ दुईध्रुवीय शक्ति संरचनामा महत्वपूर्ण पावर ब्रोकरको रुपमा आफ्नो ओहोदालाई झनै ससक्त बनाउनेछ ।

नयाँ अन्तर्राष्ट्रिय शक्ति सम्बन्धको निर्माण

यद्यपि युक्रेन युद्धको अन्त्यका लागि मध्यस्थता गर्ने चीनको खुल्ला संलग्नताले नयाँ अन्तर्राष्ट्रिय अर्डरको चिनिया भिजनलाई उल्लेख्य रुपमा अगाडि बढाउनेछ तर यो सी जिनपिङका लागि जोखिममुक्त भने छैन । हालै सीसँगको संवादमा सन् १९९१ को सीमानाभित्रै रहेर युक्रेनको भौगोलिक अखण्डता पुनर्स्थापित हुनुपर्ने कुरा भएको भनी जेलेन्स्कीले बताएसँगै रुसी विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनलाई अवास्तविक मागहरु भएका अल्टिमेटम सहित युक्रेनले सौदाबाजी गर्न चाहेको आरोप लगाएका छन् ।

यस्तो अवस्थामा बेइजिङमाथि एउटा प्रश्न स्वभाविक रुपमा उठ्छ । सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अन्तर्राष्ट्रिय मूल्यमान्यताको समर्थन गर्ने बेइजिङले युक्रेनविरुद्धको युद्ध तथा उसको भूमि कब्जा गर्ने रुसी कदमलाई वैध ठहराउँछ कि उसको आफ्नो सिमाना बलपूर्वक परिवर्तन गर्न पाइँदैन भन्ने युक्रेनको मागलाई समर्थन गर्दछ ?

यो युरोपेली तथा विश्वव्यापी शक्ति सम्बन्धमा आधारभूत प्रश्न हो । सन् १९७५ को हेलसिंकी कानूनले युरोपेली सुरक्षाको आधारभूत सिद्धान्तको रुपमा सीमानाको अनतिक्रमणलाई मानेको छ ।

युक्रेन युद्धमा चिनियाँ मध्यस्थता प्रयासको नतिजा जे सुकै होला तर यसले चिनियाँ कूटनीतिज्ञको सीप तथा क्षमताको मूख्य परीक्षण गर्नेछ । साथै यसले पुनर्कल्पित युरेसियामा चीनले आफनो भविष्यको भूमिका कस्तो खेल्न खोजिरहेको छ भन्ने कुराको पनि संकेत गर्नेछ ।

(जो एडतुन्जी, सम्पादक : द कन्भर्सेसन युके)

फेसबुकबाट कमेन्ट गर्नुहोस्