विदेशीका बिरोधले हेटौँडा कपडा उद्योग बन्द
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकिएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् ।
सांसदहरुले सेनाले विकास निर्माणका काम गर्ने, उद्योग चलाउन खोज्ने विषयका सम्बन्धमा प्रश्न गरेका थिए । जवाफमा उनले सैनिक कल्याणकारी कोषमा रहेको रकम उपयोग गरेको विषयलाई व्यापार व्यवसाय गरेको रुपमा नबुझिदिन आग्रह गरेका थिए ।
सैनिक कल्याणकारी कोषमा ८३ अर्ब रुपैया रहेको उल्लेख गर्दै उनले यो रकमलाई राष्ट्रिय योजना र विकासमा लगानी गर्न सकिने बताएका छन् । आत्मनिर्भर हुनका लागि यही कोषबाट हेटौंडाको कपडा उद्योग चलाउने योजना बनेको रक्षामन्त्रि उप्रेतीले बताएका छन् ।
जुन देशबाट कपडा आइरहेको छ त्यो देश र कपडा ल्याइरहेका ब्यापारीले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजनाको विरोध गरेको रक्षामन्त्रि अर्यालले बताएका छन् ।
प्रतिनिधी सभामा बोल्दै मन्त्रि अर्यालले भनेका छन्–‘जुन देशबाट कपडा भित्र्याउँछौं, त्यो देशबाट विरोध गर्दैमा त्यो (सेनाले हेटौंडा उद्योग चलाउने योजना) रोक्न जरुरी थिएन ।’
हेटौंडा कपडा उद्योग सेनाले चलाउने योजना आत्मनिर्भर हुनका लागि भएको उनको दाबी छ । रक्षामन्त्रिले भने–‘हामी आत्मनिर्भर हुँदा विदेशीको सामान त किनु पर्दैन । आत्मनिर्भर नहुँदा विदेशीको सामान किन्नुपर्छ । त्यही सामान हाम्रो विकिराखोस्, हाम्रो ब्यापारीले काम पाइराखुन भनेर स्याल हुइयाँ चलाइयो अब नेपाली सेना पाकिस्तानी मोडेलमा जाँदैछ भनेर ।’
हेटौंडा उद्योग चलाउने योजना रोकिएको भन्दै उनले प्रश्न गर्नेहरुलाई नै प्रतिप्रश्न गरे, ‘के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगहरुलाई सञ्चालन गर्नु पाकिस्तानी मोडल हो ? त्यो भनेको भरमा हेटौंडा कपडा उद्योग चलाउने कुरा रोकिएको जस्तो मलाइ लागेको छ ।’
रक्षामन्त्री उप्रेती बोलिरहेका बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उठेर विरोध गरे । सांसद खतिवडाले मन्त्री उप्रेतीलाई विषय केन्द्रित भएर बोल्न आग्रह गरे ।
त्यसपछि रक्षमन्त्री उप्रेती लिखित जवाफ पढ्न थाले । नेपाली सेनाले आफ्नै कोषको उपयोग गरेको कामलाई व्यापार व्यवसाय गरेको रुपमा नबुझिदिन पुनः आग्रह गरे ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्