नक्कली प्रतिनिधि स्पेन पठाउने एनजीओ छानबिनमा
संयुक्त राष्ट्रसंघीय कार्यक्रम ‘विकासका लागि वित्तको अन्तर्राष्ट्रिय सम्मेलन’को सहभागी बनाएर युरोप प्रवेश गराउन खोजिएका ५५ जनामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ थालेको छ ।
गैरसरकारी संस्थाको नक्कली प्रतिनिधि बनाएर सहभागीताका लागि आवेदन दिई युरोपियन मुलुक प्रवेश गर्न मिल्ने सेन्जेन भिसा पाएका उनीहरूको विवरण झिकाएर छानबिन अघि बढाइएको हो ।
भारतको नयाँ दिल्लीमा रहेको स्पेनिस दूतावासबाट भिसा प्राप्त गरेर अन्तिम समयमा रद्द भएकाहरूको विवरणमा उल्लेखित उनीहरूसँग नेपाल प्रहरीले गठन गरेको छानबिन समितिले सोधपुछ गरिरहेको एक उच्च प्रहरी अधिकृतले बताएका छन् ।
‘छानबिन समितिले सार्वजनिक रुपमा नाम आएका ५५ जनाको व्यक्तिगत विवरण राहदानी विभागसँग माग गरेको थियो’, ब्युरोका एक अधिकारीले भनेका छन्, ‘त्यसका आधारमा सम्पर्क गर्दै बोलाउन थालिएको छ, केहीसँग सोधपुछ समेत भइसकेको छ ।’
अधिकृतहरूका अनुसार, ५५ जनाको सूचीमा रहेकामध्ये अधिकांश राजधानीबाहिरका छन् । तीमध्ये कतिपयको फोन स्वीच्ड अफ छ । ‘केहीले जिल्लाबाहिरबाट आउन समय लाग्ने बताएका छन्’, ती अधिकारीले भने, ‘छानबिन समितिले सबैलाई सोधपुछको दायरामा ल्याउँछ ।’
३० जुनदेखि २ जुलाई २०२५ सम्म चलेको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एउटा टोली १४ असारमा स्पेनतर्फ प्रस्थान गरेको थियो । ओली गएकै विमानमा समेत असम्बन्धित युवा सेभियामा आयोजित कार्यक्रममा सहभागी हुने भन्दै गएका थिए, जो फर्किँदै फर्किएनन् ।

अधिकृतहरूका अनुसार, ओली नेतृत्वको प्रतिनिधि मण्डलमा भएका सदस्यहरू सबै फर्किएको पाइए पनि सोही समयमा गएका अरु युवा नफर्किएको पाइएको छ । ओली स्पेनका लागि उडेको भोलिपल्ट खानेपानीमन्त्री प्रदीप यादवसहित केही अधिकारीहरू कार्यक्रममा सहभागी हुन स्पेन गएका थिए ।
त्यस दिन एयरलाइन्सका कर्मचारीहरूलाई ५५ जना नेपाली युवाको सूची आएको थियो, जसलाई शंकास्पद भनिएको थियो । ‘राति विभिन्न एयरलाइन्सबाट स्पेन दूतावासबाट प्राप्त भिसा भएका २५ जना यात्रुहरूलाई उतारिएको थियो, ती सबैले यूएन सम्मेलनमा सहभागी हुन सेभिया जाँदैछौं भनेर दाबी गरेका थिए’, एयरलाइन्सका अधिकारीहरूलाई पठाइएको सूचनामा भनिएको छ, ‘तीमध्ये केहीले नक्कली एनजीओको पत्र त केहीले सम्मेलनमा भाग लिन नै नक्कली पत्र बोकेका थिए ।’
भिसा भएकामध्ये कतिपयले आफू किन स्पेन जान लागेको भन्ने समेत स्पष्ट जानकारी दिन नसकेको भनिएको थियो । केही यात्रुले अंग्रेजी समेत राम्रोसँग बोल्न नसकेको उल्लेख छ ।
काठमाडौंबाट जान नसकेपछि केहीले भारतको नयाँ दिल्लीबाट उड्ने प्रयास गरेको सूचनामा उल्लेख गरिएको छ । शंका लागेपछि दिल्लीस्थित स्पेनिस दूतावासलाई खबर गर्दा ५५ जनाको सूची आएको अधिकारीहरू बताउँछन् ।
त्यही सूचीका आधारमा छानबिन समितिले प्रारम्भिक जाँच अघि बढाएको हो । विस्तृत अनुसन्धानका लागि चाहिँ स्पेनको दूतावाससँगै विवरण माग गरिएको छ ।
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा रहेको छानबिन समितिले स्पेनिस दूतावासलाई पत्र लेखेर सेभियामा भएको कार्यक्रममा सहभागी हुने भन्दै भिसा लिएका नेपालीहरूको सूची मागेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरू समेत सदस्य रहेको समितिले उनीहरूले भिसा आवेदन दिँदा पेश गरेको कागजातहरू समेत उपलब्ध गराउन भनिएको छ । तर, दूतावासले पहिलो पटक पठाएको पत्रको जवाफमा विवरण नपठाएपछि फेरि ताकेता गरिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार, दूतावासबाट विवरण आएको अवस्थामा उनीहरूलाई सिफारिस गर्ने संस्था र तिनका पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने तयारी छ । यद्यपि, अधिकारीहरूले हालसम्म उपलब्ध विवरणका आधारमा केही गैरसरकारी संस्थालाई छानबिनको दायरामा समेत ल्याइसकेका छन् ।
कुन कुन संस्था छन् छानबिनमा ?
सीआईबीले जिल्ला प्रशासन कार्यालयबाट काठमाडौं–१६ मा रहेको ‘इन्टिग्रेटेड डेभलपमेन्ट फाउन्डेसन नेपाल’ नामक संस्थाको विवरण मगाएको छ । यो संस्थाबाट केही व्यक्तिलाई स्पेनमा भएको कार्यक्रममा सहभागिताका लागि सिफारिस गरिएको पाइएको छ । स्रोतका अनुसार, भिसा लिने बेला यो संस्थाको अडिट लगायतका कागजात समेत पेश भएको पाइएको छ ।
ललितपुरमा रहेको ‘समाज परिर्वतनका लागि एकता’ नामक संस्थाको विवरण समेत छानबिन समितिले जाँचका लागि झिकाएको छ । संस्थाका अध्यक्ष प्रदीप शर्माको हस्ताक्षरसहित दिल्लीमा रहेको दूतावासलाई भिसा दिन सिफारिस गरिएको पत्र फेला परेको थियो ।
बैठकको निर्णय भन्दै भिसाका लागि सिफारिस गरेका जनकबहादुर टमटा आफैं विमानस्थलबाट फिर्ता हुने ५५ जनाको सूचीमा परेका थिए । संस्थाका अध्यक्ष शर्माले चाहिँ पत्रमा उल्लेखित हस्ताक्षर आफ्नो नभएको जिकिर गरेका छन् ।
‘त्यो हस्ताक्षर मेरो होइन, नाम पनि प्रदीप चौंलागाईं लेख्छु’, उनले भनेका छन्, ‘त्यसैले त्यो पत्र नै कहाँबाट बाहिर आयो भन्ने पनि छानबिन होस् ।’ उनले टमाटाको नाम समेत पहिलो पटक सुनेको भन्दै आफ्नो संस्थाबाट कोही पनि स्पेन नगएको दाबी गरे । प्रहरीले भने यो विषयमा छानबिन भइरहेको जनाएको छ ।
स्रोतका अनुसार, प्रहरीले गैरसरकारी संस्था महासंघका केही अधिकारीहरूसँग समेत सोधपुछ गरेको छ । ‘तर, उहाँहरूले संस्थाबाट एक जना मात्र स्पेन गएको र फर्किसकेको बताउनु भएको छ’, स्रोतले भन्यो, ‘जारी रहेको अनुसन्धानमा सहयोग गर्न समेत भनेका छौं ।’
सन् २०२३ मा दोहामा भएको विकासका लागि वित्त सम्मेलनले चौथो संस्करण स्पेनको सेभियामा गर्ने तय गरेको थियो । त्यसका लागि झण्डै एक वर्ष अगावैदेखि सरोकारवाला संस्थाको रजिष्ट्रेसन र सहभागी हुन इच्छुकका लागि आवेदन आह्वान गरिएको थियो ।
सम्मेलनको वेबसाइटमा उल्लेख भएअनुसार यो सम्मेलनमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूसँगै अन्तरसरकारी संगठन, अन्तर्राष्ट्रिय वित्तीय संस्था, अन्तर्राष्ट्रिय निकायसँगै पर्यवेक्षकको रुपमा गैरसरकारी संस्था (एनजीओ) र अन्य सरोकारवालाले सहभागिता जनाउन पाउने भनिएको थियो ।
अनलाईनखबरमा प्रकासित समाचार अनुसार प्राप्त कागजातमा मानव तस्करीमा संलग्न गिरोहले एनजीओको कागजातका आधारमा सम्मेलनमा सहभागिताका लागि अनलाइन फारम भरेको र त्यसका आधारमा सम्मेलन आयोजकबाट स्वीकृति दिइएको देखिन्छ ।
छानबिन समितिका एक सदस्यले समेत कीर्ते कागजात प्रयोग गरेर आवेदन दिएको र त्यसका आधारमा प्राप्त पत्र देखाएर भिसा प्रक्रिया थालेको देखिएको बताए । कतिपय युवाले अनौपचारिक कुराकानीमा उनीहरूबाट कम्तीमा १५ लाख रुपैयाँ असुली गरिएको समेत बताएका छन् ।
तर, उनीहरूले जाहेरी नदिएसम्म मानव तस्करीमा अनुसन्धान अघि बढाउन कठिन रहेको अधिकारीहरू बताउँछन् । जाहेरी प्राप्त नभए कीर्ते कागजात बनाएर विदेश पठाएको आरोपमा लिखत कीर्तेको कसुरमा अनुसन्धान अघि बढ्न सक्ने एक अधिकृतले बताए ।
स्पेन गएका युवाहरू नफर्किएकोबारे थप प्रमाणहरू सार्वजनिक हुन थालेपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा प्रमुखहरूको बैठक बोलाएका थिए । र, प्रहरी महानिरीक्षक दिपक थापालाई छानबिन गर्न निर्देशन दिएका थिए । त्यसपछि सीआईबीका एसएसपी बोगटीको नेतृत्वमा समिति गठन भएको थियो ।
यो मामिला छानबिनको प्रक्रियामा गएपछि असुली गर्नेहरूले युरोप छिरिसकेका कतिपयलाई फिर्ता आउन भनेको स्रोतको भनाइ छ ।
‘फिर्ता आउने भए निःशुल्क टिकट काटिदिन्छौं भनेका थिए’, हाल स्पेनमा रहेका एक युवाले भनेका छन्, ‘फेरि जान मिल्छ भनेर उनीहरूले विश्वास दिलाएपछि कतिपय फर्किएका छन् ।’
तर, कार्यक्रममा सहभागी नभइ हिंडेका अरु थुप्रै नेपाली युवा जर्मनी लगायतका मुलुक पुगिसकेको उनी बताउँछन् । स्पेनमा भएका कतिपय युवाले चाहिँ काम नपाएका कारण घरबाट समेत रकम पठाउनु परेको जानकारहरू बताउँछन् ।
‘यत्रो खर्च गरेर आइसकेपछि फर्किने कुरै हुँदैन, बरु काम समेत मिलाइदिन्छु भनेका थिए, अहिले सम्पर्कमा नआउँदा चाहिँ केही अफ्ठ्यारो भएको छ’, युरोपबाट एक नेपालीले भने, ‘आफन्त हुनेहरू यतै सेटल भइसके, अरुलाई चाहिँ केही समयका लागि कठिनाइ भएको छ ।’
(यो समाचार अनलाईनखबरबाट साभार गरिएको हो । अनलाईनखबरका लागी यो समाचार गौरव पोखरेलले लेखेका हुन ।)








फेसबुकबाट कमेन्ट गर्नुहोस्