कुश्माको रेल स्टेसनबारे प्रधानमन्त्रीको जवाफ
प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन महत्त्वका परियोजना बन्न समय लाग्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले महत्त्वाकांक्षी योजनाहरू अघि सार्दा व्यंग्य गरिने बताएका हुन् ।
नेकपा एसका सांसद मेटमणि चौधरीले कुस्मामा रेल पु¥याउने प्रधानमन्त्री ओलीको योजनाको प्रसंग कोट्याएका थिए । ‘प्रधानमन्त्रीज्यूले पोखरा–काठमाडौं रेलको कुरा गरिराख्दा कुश्मामा रेलको स्टेसनको कुरा गर्नुभएको थियो । त्यो विषयमा पनि बजेट वक्तव्यमा समेटिएन । जग्गा अधिग्रहण गर्ने विषय पनि आएन । कुस्माका जनताहरू रेल स्टेसन बन्ने विषयमा आशावादी हुनुहुन्छ तर सम्बोधन नभएपछि निराश हुनुहुन्छ । यसबारे प्रस्ट पारिदिनुहुन सम्माननीय सभामुखमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्दछु ।’

प्रधानमन्त्रीले यसको उत्तर दिँदै रेल्वे लाइन आजको भोलि बन्ने योजना नभएको बताएका छन् । कुस्मामा रेलको प्रसंग उप्काएर आफूमाथि व्यंग्य गर्न खोजिएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । पोखरा–काठमाडौं–लुम्बिनी रेलमार्गका लागि चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
सम्भाव्यता एवं विस्तृत अध्ययनका आधारमा रेलवे पूर्वाधारहरूको निर्माण कार्य क्रमशः अगाडि बढाइने उनले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले जवाफमा भनेका छन्–‘माननीयज्यूले कुश्मामा रेल्वे स्टेसन भनेर व्यंग्य गर्न खोज्नु भएको बुझिन्छ । यस्ता दीर्घकालीन महत्त्वका परियोजनाहरू पोहोर प्रस्ताव राखेर अहिले पूरा हुने योजना होइनन् । त्यो हाम्रो विकासको सपना हो, यो पनि पूरा हुने दिन आउँछ, ।’
हालै दैलेखमा प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको पत्ता लागेको विषयलाई पनि प्रधानमन्त्री ओलीले आफ्नो उपलब्धिका रूपमा चर्चा गरेका छन् । प्रधानमन्त्री वलीले भनेका छन्–‘पहिले दैलेखमा ग्यास उत्खनन् गर्छु भन्दा यस्तो व्यंग्यात्मक प्रश्न आउँथे । अब ११२ अर्ब घनमिटर ग्यास रहेको र अर्को वर्षदेखि उत्पादन हुन्छ भनेपछि व्यंग्य गर्नेहरू त्यसमा हाम्रो पनि योगदान छ भन्न थालेका छन् ।’
कुश्मामा रेल स्टेसन ! बारम्बार किन चर्चा भइरहन्छ ?
ओलीले २०७४ को संसदीय चुनावको प्रचारप्रसारका क्रममा नेपालमा पानीजहाज चलाउनेदेखि पूर्व–पश्चिम र मुलुकका विभिन्न भागमा रेल चलाउने योजना सुनाएका थिए । कुरा हो २०७४ कात्तिक ३० गते । माओवादी र एमालेसहितको वाम गठबन्धन चुनावी मैदानमा थियो । कुश्माको बान्द्रेबिडी चौरमा उभिएर ओलीले रेल–सपना बाँडेका थिए ।
सामाजिक सञ्जालमा बेलाबखत उक्त भिडियो भाइरल भइरहन्छ । त्यतिबेला वलीले भनेका थिए–‘उत्तर–दक्षिण रेल । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा रेल । पोखरा रेल आएपछि बेनीसम्म रेलका लागि मैले केही भन्नुपर्दैन जस्तो लाग्छ । पोखरा रेल आएपछि बेनी जाँदैन त ! बेनी कहाँबाट जानुपर्छ, कुश्मा आउनुपर्दैन । कुश्मा त स्टेसन नै हुन्छ । केही वर्षको कुरा हो यो ।’
२०७४ मा वाम गठबन्धनले झन्डै दुई तिहाइ बहुमत ल्यायो पनि । ओली २०७४ फागुन ३ देखि २०७८ असार ३० सम्म प्रधानमन्त्री बने । त्यसपछि अर्को चुनाव २०७९ मा भयो । उक्त चुनावी भाषणमा भने ओलीले कुस्माको रेलको चर्चा खासै गरेनन् । २०८० असार ३० यता पुनः प्रधानमन्त्री बनेका ओलीलाई ‘कुश्माको रेल स्टेशन’ ले भने पछ्याइरहेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्