‘क का कि की’मा कमेडी दरबार टिम र रेखा
हास्य कलाकारहरूको टिम सक्किगोनीले गत वर्ष चलचित्र ‘लाज शरणम’ दर्शकमाझ ल्यायो । यो चलचित्रले आफ्नो लगानी सुरक्षित ग¥यो । यति बेला अर्को हास्य कलाकारहरूको टिमले नयाँ चलचित्र ‘क का कि की’ को निर्माण घोषणा गरेको छ । यो चलचित्रलाई हास्य कलाकार विक्की अग्रवाल र श्रद्धा प्रसाईँले संयुक्त निर्देशन गर्ने छन् ।
टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य कार्यक्रम ‘कमेडी दरबार’को टिमले यो चलचित्रलाई निर्माण गर्न लागेको हो । सोमबार यो टिमले फस्ट लुक्स सार्वजनिक गर्दै चलचित्र ‘क का कि की’को औपचारिक निर्माण घोषणा गरेको हो ।

यो चलचित्रमा रेखा थापा, तृप्ति नाड्कर, महेश त्रिपाठी जस्ता कलाकार अनुबन्धित भएका छन् । तृप्ति नाडकर एक दशकपछि नेपाली चलचित्रको अभिनयमा फर्कन लागेकी हुन् ।
यी कलाकारसँगै ‘कमेडी दरबार’का हास्य कलाकारहरू गौरी मल्ल, हिमेश पन्त, सुजता श्रेष्ठ, मिस पवि, पवन खतिवडा ‘म्याकुरी’, विश्वास तिम्सिना, सीडी विजय अधिकारीले पनि चलचित्रमा अभिनय गर्ने निर्माण पक्षले जनाएको छ । चलचित्रको छायांकन असोजको दोस्रो साताबाट सुरु गरिने भएको छ ।
चलचित्र हास्य प्रधान विधामा तयार गर्न लागेको निर्देशक विक्कीले बताएका छन् । चलचित्रका निर्मात्री श्रद्धा प्रसाईँ र सुमित्रा थापा हुन् । यसको स्क्रिप्ट विक्कीले लेखेका हुन् । चलचित्रको छायांकारमा सुदीप बराल, वितरकमा श्री वेंकेटेश र सेभेन सिज रहेका छन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्