सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गत बर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स

देशबाहिर रहेका नेपालीले पठाउने रेमिट्यान्सले गत आर्थिक वर्षमा नयाँ रेकर्ड बनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८०/८१ मा १६.५ प्रतिशतले रेमिट्यान्स आप्रवाह वृद्धि भई १४ खर्ब ४५ अर्ब भित्रिएको थियो ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले रेमिट्यान्स आप्रवाह बढेको देखाएको हो । रोजगारीका लागि विदेशिने नेपालीको संख्या बढेको, अमेरिकी डलरको भाउ वृद्धि भएको लगायत कारणले पछिल्ला महिनामा रेमिट्यान्स लगातार उकालो लागेको जानकारहरू बताउँछन् ।

Bidesh

गत असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा यो रकम हालसम्मकै उच्च हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड थियो । यस्तै, गत जेठमा १ खर्ब ७६ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

त्यसअघि धेरै रेमिट्यान्स गत वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड, फागुनमा १ खर्ब ५१ अर्ब र असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको थियो । गत असार मसान्तसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा पनि सकारात्मक प्रभाव परेको हो । गत वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने ५ लाख ५ हजार ९ सय ५७ र पुनः श्रम स्वीकृति लिने ३ लाख ३३ हजार ३ सय ९ जना थिए । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार १ सय २ र २ लाख ८१ हजार १ सय ९५ थियो ।

वैदेशिक रोजगारीमा शिक्षित र सीप भएका व्यक्ति जान थालेकाले रेमिट्यान्स लगातार बढिरहेको नेपाल विप्रेषक संघका पूर्वअध्यक्ष सुमन पोखरेलले बताए । ‘शिक्षित, सीप भएका, वित्तीय रूपमा साक्षर व्यक्तिहरू पनि वैदशिक रोजगारीमा जाने क्रम बढेको छ,’ उनले भने, ‘नेपालीहरू अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया र युरोपका ठूला र विकसित देशमा जान थालेका छन् । यसरी कामदार र गन्तव्य मुलुकमा विविधीकरण भएको देखिन्छ । ती देशमा गएका नेपालीको आम्दानी पनि धेरै छ । यस कारण रेमिट्यान्स आप्रवाह लगातार बढेको हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS