आज महिलाहरुको तीज पर्व धुमधामसंग मनाईँदै
आज हरितालिका तीज पर्व देश तथा विदेशमा देवताहरुको देवता महादेवको पूजाआराधना गरी धुमधामसंग मनाइँदै छ । खासगरी आज हिन्दु नेपाली महिलाहरुले ब्रत बसी भगवान शिवको पुजा आरधना गरी धुमधामसंग तीज मनाउने चलन रहिआएको छ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
सोही मान्यताअनुसार वरदान विपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत भगवान विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीहरुले पावतीलाई नै हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको किंवदन्ती रहेको छ ।
साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको हिन्दु धर्मशास्त्रीय मान्यता रहेको छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले सुनाए ।
‘निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उनले भने, ’‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।’
प्राडा रामचन्द्र गौतमले स्वास्थ्य ठीक नहुनेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने जानकारी दिए । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको गौतमले बताएका छन् । उनले भने–‘अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरूले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ ।’
नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा हाल केही नारीवादीले उठाए जस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।
महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन् ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ ।
सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्