सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानमा नेपाल फेस्टिवल, कन्दरा सदस्यलाई सम्मान

जापानको गुन्मामा आयोजना हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । बिभिन्न १० ओटा प्रवासी नेपाली संघ संस्था मिलेर आयोजना गर्न लागेको संयुक्त प्रथम नेपाल फेस्टिवल यही सेप्टेम्बर ६ र ७ तारिखका दिन हुँदै छ ।

‘अनेकतामा एकता, नेपाली कला संस्कृती र पहिचानलाई बिदेशीहरु माझ चिनाउने हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको फेस्टीबल गुन्माकेनको आईजुमीमाचीस्थित इजुमीनो मोरीमा हुँदैछ ।

नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानलाई प्रवर्धन गर्दै जापानमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहकार्य, एकता र सामाजिक आत्मीयता विस्तार गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागेको १० आयोजक संस्था मध्येको एक तमु धीँ किताकान्तो समितिका अध्यक्ष राम गुरुङ्गले बताएका छन् ।

Nepal Festival Gunma Japan

फेस्टिवलमा पोखराको बहुचर्चित कन्दरा ब्यान्ड ३२ बर्ष पुगेको अवसरमा ब्यान्डका मुल गायक (भोकलिष्ट) विवेक श्रेष्ठ र ड्रमवादक (ड्रमिस्ट) सुनिल थापालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । आयोजक समितिका सदस्य राम गुरुङका अनुसार गायक विवेश श्रेष्ठ र ड्रमवादक सुनिल थापालाई सम्मान गर्ने बाहेक अरु सांगितिक कार्यक्रम भने राखिएको छैन ।

हाल कन्दरा ब्याण्डको समुह नागोया र टोक्योको सांगितिक कार्यक्रमका सिलसिलामा जापानमा रहेको छ । कन्दरा समुहले यही सेप्टेम्बर ४ तारिख टोक्यो र १० तारिख नायोगामा आफ्नो सांगितिक प्रस्तुती दिँदैछ ।

नेपाल फेस्टिवलमा नेपाल चिनाउने बिभिन्न सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु राखिएको आयोजकले बताएको छ । फेस्टीवलमा बिभिन्न नेपाली खानेकुराहरुको परिकारका साथै हस्तकला र नेपालको टुरिजम सम्बन्धि स्टलहरु पनि राखिएको स्टल व्यवस्थापन समितिका संयोजक राम गुरुङले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS