कतै भोकमरी, कतै अनुदानको चामलले रक्सी
नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री–वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् । संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् ।
संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ । चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ । अहिले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध हुन्छ ।
कर्णालीका हुम्ला, मुगु, डोल्पा र भेरी जाजरकोटका विभिन्न गाउँमा यतिखेर अनुदानको चामल समयमै नपुगेका कारण खाद्य संकट भइरहेको छ । जुम्लावासीले भने अनुदानको चामलबाट मदिरा बनाई महँगोमा बेचेका हुन् ।
जुम्लामा संस्थानले प्रतिउपभोक्ता दुई बोरा अर्थात् ६० केजी चामल दिने व्यवस्था गरेको छ तर स्थानीयले एकै घरका धेरैजनालाई लाममा राखेर एकमुष्ट १०–१५ बोरासम्म चामल लिने गरेको पाइएको छ ।
कतिपय घरेलु मदिरा उत्पादक व्यापारीले हिउँदमा बनाएको मदिरा चैत–वैशाखमा यार्सा टिप्न पाटन जाँदा यार्सासँग साट्ने गर्छन् । संस्थानको चामलले गाउँमा मदिरा बनाउने होड चलेको छ । तर, सर्वसाधारणले भने बिहे, भोजभतेरका लागि भन्दै संस्थानबाट चामल लिने गरेका संस्थान प्रमुख रणबहादुर ऐरले बताएका छन ।
संस्थानको चामल केका लागि प्रयोग हुन्छ भन्नेबारे अहिलेसम्म अनुसन्धान नगरिएको उनको भनाइ छ । खाद्य संस्थानबाट अहिले अरुवा मोटो चामल प्रतिकिलो ४०, अरुवा मकवानपुर ३९, उसिना चामल ३४, मध्यम ४५ र सोना मन्सुली ४९ रुपैयाँमा चामल बिक्री भइरहेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्