सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तेरिया पुगिन ‘झलक दिखला जा’ को फाईनलमा

सन् २०१४ मा ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि जितेकी बुटवलकी नेपाली चेली तेरिया फौजामगर पुन अर्को उपाधि नजिक पुगेकी छन् । डीआईडी लिटिल मास्टरको प्रतिस्पर्धामा ४० हजार प्रतिस्पर्धीलाई विजेता बनेकी उनी अहिले रियालिटी सो ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् ।

भारतीय च्यानल कलर्सको ‘झलक दिखला जा’ कार्यक्रममा १४ वर्षिया तेरियाले सिनियर डान्स स्टारबीच प्रतिस्पर्धा गर्दैछिन । विजेताहरूबीच प्रतिस्पर्धा गराउने यो प्रतियोगिता भारतीय टीभी सो मध्येमा सर्वाधिक पुरस्कार राशिको हो ।

प्रतिस्पर्धा जित्नेले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछ । तेरिया मगरले डीआईडी लिटिर मास्टर विजेताको तर्फबाट ‘झलक दिखला जा’ को सिजन ९ मा प्रतिस्पर्धाका लागी प्रवेश पाएकी हुन् ।

प्रतियोगीता गत जुलाईमा सुरु भएको थियो । प्रतियोगीतामा १२ जोडी सिनियर महिला र पुरुष डान्स सेलिबे्रटी छनोट भएका थिए । तेरियासहित ५ जना जुनियर प्रतियोगीलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो ।

च्यालेन्जरका रूपमा प्रवेश पाएकामध्ये तेरिया मात्रै फाइनलमा पुगेकी छन । फाइनलमा तेरियाले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्व विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्दैछिन् ।

हालसम्मको नतीजा अनुसार फाइनलमा रहेका तीनजनामध्ये तेरिया पहिलो नम्बरमा छिन । नृत्य सोमा निर्णायकले उनको प्रशंसा गर्ने गरेका छन । उपाधिका लागि जनवरी १४ देखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ हुँदै छ ।

तेरियालाई जिताउनका लागी तेरिया फाउन्डेसन लगायत बिभिन्न नेपाली संघसंस्थाले भोटीङ्गका लागी सबैलाई आग्रह गरेका छन । डीआईडी लिटिल मास्टर विजेता भएपछि तेरियाले देशविदेशमा नेपाली झन्डासहित आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्