पृथ्वीराजमार्गबाट काठमाण्डौ भित्रिने पुल भत्कियो
अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पु¥याएको छ ।
मोवाखोलामा आएको बाढीले पुलको धादिङतर्फको खण्ड भत्काएको छ । बाढीले खोला छेउका केही घर पनि बगाएको स्थानीय सन्तोष पौडेलले जानकारी दिएका छन् । सोमबार दिउँसो करिब २ बजेतिर आएको बाढीले धादिङतर्फ मौवाखोलाको पुल करिब पाँच मिटर सडक कटान गरेको हो ।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दिएको जानकारीअनुसार तत्काल पुल मर्मत गर्न सक्ने अवस्था छैन । ‘पानी परिरहेको छ । धादिङदेखि मौवाखोला पुग्ने ९ ठाउँमा पहिरो छ,’ उनले भनेका छन्–‘मौवाखोलाकै बाढीले पुलको एकतर्फ सडक कटान गरेको हो । अहिले खोलामा पानी केही कम भएको छ तर तत्काल मर्मत गर्न सकिने अवस्था छैन ।’
भोलिसम्म उक्त पुल मर्मत गरेपछि पृथ्वी राजमार्ग सुचारू हुने उनले जानकारी दिएका छन् । उक्त पुलमा क्षति पुगेपछि पृथ्वी राजमार्गको काठमाडौंसँगको सम्बन्ध टुटेको छ । ‘पाँच मिटरजति कटान भएको सडकमा माटो भरेर सडक सुचारू गर्नुपर्छ त्यसका लागि पानी पर्न कम हुनुपर्छ,’ उनले भने, ‘आज पुल मर्मत सम्भव छैन । वर्षा थामियो भने भोलि मर्मत गर्छौं ।’
बाढीले पुलसँगैको सडक कटान गरेपछि धादिङतर्फ फसेका करिब २२ वटा सवारी साधन र एक सय जनाजति मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको उनले जानकारी दिएका छन् । प्रजिअ तामाङले भनेका छन्–‘हिँडेर पनि चितवनतर्फ जान जोखिम छ । त्यहाँ रहेका मानिस र सवारी साधनलाई धादिङतर्फ सुरक्षित स्थानमा लगेका छौं ।’
उक्त खोलामा तत्काल डाइभर्सनसमेत राख्न नसकिने भएकोले सडक सुचारू गर्न कठिनाइ भएको उनले बताएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मौवाखोला, कालीखोला लगायतमा सडक अवरूद्ध रहेको जानकारी दिएका छन् ।
त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिएका छन् ।
१ जना बेपत्ता दुई जना घाइते
धादिङमा पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । डीएसपी खड्काका अनुसार गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको छ, एक जना बेपत्ता र एक जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्