म त नेपाली थिएँ, कसरी मधेसी भएँ ?; रौनियार
अमेरिकाबाट फर्केर नेपालमा राजनीति गर्न कस्सिएका दर्शन रौनियार अन्ततः राजावादीहरुको संसर्गमा पुगेका छन् । राजसंस्थाको वकालत गर्दै आएका नेता केशरबहादुर विष्टले अगुवाइ गरेको नयाँ राजनीतिक शक्तिको भेलामा बिहीबार रौनियारले निकै कडा भाषण गरे ।
खचाखच हलभित्र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरमुनि उभिएर रौनियारले आफ्नै वर्णनबाट भाषण सुरु गर्दै उनले भने–‘म १६ हजार किलोमिटर टाढा अमेरिकाबाट आएको छु । यो भद्रगोल अवस्थामा पुगेको देशलाई सम्हाल्न र समृद्ध बनाउन (मजस्तै) नयाँ र दुरदर्शी नेताको खाँचो छ । त्यसैले म आज तपाईंहरु समक्ष उपस्थित भएको हुँ ।’
रौनियारले २८ वर्ष अगाडि ‘बाध्यताको कारणले’ आफू अमेरिका गएको कहानि बताए । परिवारको भविष्यका निम्ति विदेशिएको उल्लेख गर्दै रौनियारले अगाडि भने–‘मैले सुरुमा भाँडा माझेँ । अनि मिहिनेत गरेर इन्जिनियरिङ सिध्याएँ । र, आफ्नै व्यवसाय सुरु गरेँ । अमेरिकीलाई काममा लगाएँ ।’
आफ्नो लामो कहानी सुनाइसकेपछि नेपालको दुरावस्थाको विश्लेषण रौनियारले भने–‘अरु देश कहाँ पुगिसके, हामी जहाँको त्यहीँ छौं, अरु देश विकास र समृद्धिको कुरा गर्छन, हामी भने ६५ वर्षदेखि राजनीतिक संघर्षमै रुमल्लिइरहेका छौं ।’
रौनियारले अगाडी भने–‘पञ्चायत हट्यो, बहुदल आयो, तर जनताले के पाए ? जनयुद्धका नाममा १७ हजार मानिस मरे । तर, के पायो देशले ?, देशमा स्थिरता नहुँदा एक चौथाई नेपालीहरु विदेशमा गएर रगत पसिना बगाउनु परिरहेको छ । हाम्रा दाजुभाइहरु खाडीमा मरिरहेका छन् । दिदीबहिनीहरु बिरानो देशमा बलात्कृत भइरहेका छन् ।’
नेपालको विकासलाई अमेरीकातर्फ मोड्दै उनले भने–‘अमेरिका त्यसै बनेको होइन ! नेपालमा ५५ झ्याले दरबार भन्ने देश निर्माण हुँदा अमेरिका भन्ने देश नै थिएन । अहिले त्यही दरबारको संरक्षण गर्न अमेरिकाबाट पैसा आउँछ । के यो लज्जास्पद होइन ? म यही पिडाले नेपाल फर्केको छु । अब अति भो ।’
यति भनिसकेपछी रौनियारले जातजाति र संघीयताका कुरा झिके–‘म जन्मिँदा एक सय ३० वटा जातजाति थिए । १२६ वटा भाषा थिए । सानो मुलुकमा यति धेरै विविधताका बीच सबै दाजुभाइ–दिदीबहिनी मिलेर बसिरहेका थियौं । अहिले जातजातिको कुरा कसरी आयो ? म एक नेपाली मात्र थिएँ २८ वर्ष अगाडि । तर, आज मलाई मधेसी भन्छन् । म त पहिले नेपाली हुँ ।’
‘मधेस भन्ने कुरै थिएन पहिले । तराईवासी थिए । हिमालवासी थिए । पहाडवासी थिए । उनीहरु सबै नेपाली थिए । यो डिभाइड एन्ड रुल हो ।’ अब यो देशलाई राजनीतिक स्थिरता आवश्यक रहेको रौनियारले बताए । त्यसका लागि प्रत्यक्षरुपमा राष्ट्र प्रमुख चुन्न पाउने व्यवस्था हुनुपर्ने उनको भनाइ थियो ।
‘समानुपातिकका नाममा करोडौं रुपैयाँ दिएर संसद बनेका छन् । फटाहा र लुटेराहरुले देश चलाइरहेका छन् । अनि यस्ताले संविधान दिने हामीलाई ? यस्ताले सिकाउने ?’ उनले प्रश्न गरे । यसैगरी उनले धर्मनिरपेक्षता खारेज गरेर हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गरे । ‘हिन्दूराष्ट्र हाम्रो पहिचान हो । आफ्नो पहिचान गुमाउनुभयो भने तपाईंलाई कसैले पनि चिन्दैन,’ उनले भने ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्