काकाकुल काठमाण्डौलाई निराशा, रोकियो मेलम्ची
सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ । मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्ण रूपमा रोकिएको छ ।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिएका छन । उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं । तर, काम रोकिएको छ । काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ ।’
आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन । अहिलेसम्म ३.६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ । सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ ।
इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको छ । चिनियाँ कम्पनीले काम छाडेपछि सरकारले सीएमसीसँग २०१४ मा तयारी सुरुङ निर्माण र हेडवक्र्सको कामका लागि सम्झौता गरेको थियो ।
सात अर्ब ७१ करोड रुपैयाँमा काम सक्ने गरी भएको सम्झौताअनुसार अहिलेसम्म सुरुङ खन्ने काम मात्र सकिएको छ । अहिलेसम्म हेडवक्र्स (इन्टेक) का लागि माटो काट्ने काम मात्र भएको छ भने सुरुङ फिनिसिङको काम भएको छैन ।
आयोजनाका सिनियर डिभिजन इन्जिनियर पन्तले सुरुङ निर्माणको काम नसक्दासम्म पानी फर्काउन नसकिने बताएका छन । उनले भने, ‘ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्छु भनेको छ । भुक्तानीको चिन्ता छैन । काम अगाडि बढ्यो भने पैसा दिन सकिन्छ ।’
आयोजनाका लागि चालु आवमा विनियोजित चार अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च हुन सकेको छैन । अहिलेसम्म ठेकेदारले भुक्तानी पाउनेभन्दा ७० करोड रुपैयाँ बढी लिइसकेको समितिले जनाएको छ ।
रोकिएको काम कसरी अगाडि बढाउने भन्ने विषयमा आयोजना विकास समिति र ठेकेदारबीच पटक–पटक वार्ता भइसकेको छ । ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्ने वचन दिएको सिनियर डिभिजन इन्जिनियर पन्तको भनाइ छ ।
सुरुङको काम सकिएपछि मात्र पानी फर्काएर इन्टेकको काम अगाडि बढाउन सकिन्छ । यसका लागि अस्थायी पाइप राखेर पानी टनेलमा खसाल्ने सोचमा आयोजना छ । वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले हिउँदभन्दा पहिला अस्थायी रूपमा पानी टनेलमा खसाल्न सक्ने अवस्था छैन ।
सुरुङ खन्ने काम सकिएको अवसरमा खानेपानीमन्त्री बिना थापामगरले दसैंमा काठमाडौंंमा मेलम्चीको पानी आउने बताए पनि दाता एसियाली विकास बैंकले भने पुस १५ मा मात्र आयोजनाको पानी आउने जनाएको छ ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१८ को अन्त्यसम्म काठमाडौं उपत्यकामा वितरणका लागि प्रतिदिन थप १७ करोड लिटर खानेपानी उपलब्ध हुनेछ । नयाँ प्रणाली सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा दैनिक कम्तीमा २–४ घण्टा खानेपानी आपूर्ति हुनेछ ।’
समयमा काम नसकिँदा आयोजनाको लागतसमेत बढ्दै गएको छ । ०७४ को असार मसान्तसम्म सक्ने गरी पछिल्लो समय २३ अर्ब ४५ करोड लागत अनुमान गरिएको थियो । तर, आयोजनाकै लागि ०७४ को माघसम्म २४ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनामा २१ दशमलव ४१ प्रतिशत रकम परामर्शदाताका लागि मात्र खर्च भएको देखिन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्