सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आईजीपीले किन पठाए डिआईजी पछी सुराकी

नेपाल प्रहरीमा आफ्नै सहकर्मीविरुद्ध कति खतरानाक खेल भइरहेको छ भन्ने उदाहरण बिहीबारको एउटा घटनाले देखाएको छ । प्रसंग हो, बिहीबार ललितपुरमा पक्राउ परेका दुई जना सुराकीको ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले आफ्नै सहकर्मी अर्थात डीआइजी नवराज सिलवालविरुद्ध सुराकी खटाएको खुलासा भएको हो । अर्यालले खटाएका दुई जना सुराकीको बिहीबार पहिचान भएपछि डीआइजी सिलवाल जीवन रक्षाको माग गर्दै मानवअधिकार आयोगमा पुगेका छन् ।

उनले मानवअधिकार आयोगमा आफ्नो बाँच्न पाउने मौलिक अधिकारको हनन भएकोले रक्षा गर्न माग गर्दै उजुरी दिएका हुन् । आइजीपी अर्यालको आदेशमा डीएसपीहरु भूपेन्द्र खत्री र सविन प्रधानले प्रहरी हेडक्वार्टरबाट इन्स्पेक्टर सञ्जय तिमल्सिना र सई सुवास कटवालको कमाण्डमा हतियारसहित दुई टोली खटाएको भेटिएको हो ।

यो टोलीका दुई जनालाई डीआइजी सिलवालले बिहीबार पहिचान गरेका हुन् । सिलवालको सुराकी गर्दै पिछा गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक सुरज श्रेष्ठ र प्रहरी जवान दिनेश केवटको पहिचान खुलेको हो ।

बिहीबार ठमेलमा साथीलाई भेटेर फर्कने क्रममा उनीहरुले बा ७ प ५०९५ नम्बरको मोटरसाइकलबाट डीआइजी सिलवाललाई पिछा गर्दै सुराकी गरेका थिए ।

ठमेलबाट मोटरसाइकलले पिछा गर्दै आएको शंका लागेपछि ललितपुरको सानेपामा पुगेपछि सिलवालको सुरक्षार्थ खटिएका प्रहरीले सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनीहरुले आफूहरु प्रहरी हेडक्वार्टरबाट खटिएको खुलासा गरेका थिए ।

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहेको अवस्थामा बिरामी बिदामा रहेको र प्रहरी महानिरीक्षकको पदोन्नतिको बिषयमा सर्वोच्च अदालतमा मेरो मुद्दा विचाराधीन रहेको अवस्थामा प्रहरी प्रधान कार्यालयबाट ममाथि सर्भि गर्ने, मेरो परिवारलाई तर्साउने, धम्काउने लगायतका कामहरु भइरहेको’ डीआइजी सिलवालले आयोगमा दिएको उजुरीमा उल्लेख छ ।

आइजीपीमा प्रतिस्पर्धी रहेका सिलवाललाई फसाउन आइजीपी अर्यालले अनेक उपाय अपनाइरहेको आरोप लागेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्