चीनको सैन्य परेडमा सहभागी नहुन जापानको अपिल
जापान सरकारले चीनले दोस्रो विश्वयुद्धको समाप्तिको ८०औं वार्षिकोत्सवको अवसरमा आगामी महिना आयोजना गर्न लागेको सैन्य परेड तथा अन्य कार्यक्रमहरूमा युरोपेली र एशियाली देशहरूलाई सहभागी नहुन आग्रह गरेको छ । कूटनीतिक स्रोतहरूले आइतवार जानकारी दिएको हवाला दिँदै क्योदो न्युजले यो समाचार प्रकासन गरेको छ ।
जापानले चीनले इतिहासको व्याख्या गर्ने दृष्टिकोणलाई फैलिन नदिन चाहेको बताइएको छ। चीनले सेप्टेम्बर ३ मा बेइजिङको तियानआनमेन स्क्वायरमा आयोजना गर्न लागेको परेडलाई चीनले “जापानी आक्रामण विरुद्धको प्रतिरोध युद्ध” र “विश्व एन्टी-फासिस्ट युद्ध” मा आफ्नो विजयको रूपमा स्मरण गर्नेछ।
स्रोतहरूका अनुसार, जापानले विदेशस्थित आफ्ना दूतावासमार्फत अन्य मुलुकहरूलाई जानकारी दिँदै चीनका ती कार्यक्रमहरूमा जापानविरुद्धको दृष्टिकोण झल्किने भन्दै नेताहरूको सहभागिता विचारपूर्वक गर्न सुझाव दिएको छ।

यी कार्यक्रमहरू हुनुअघि चीनले सेप्टेम्बर १ सम्म तिआनजिनमा दुई दिने साङ्घाई सहयोग संगठन (SCO) सम्मेलन आयोजना गर्ने योजना बनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन र त्यसपछि हुने युद्ध स्मृति कार्यक्रमहरूमा सहभागी हुने अपेक्षा गरिएको छ।
चीनले सन् २०१५ मा युद्ध समाप्तिको ७०औं वार्षिकोत्सवमा सैन्य परेड आयोजना गर्दा राष्ट्रपति सी चिनफिङले “युद्धपछिका पुस्ताहरूले इतिहासको सही दृष्टिकोण अपनाउनु पर्छ र इतिहासका पाठहरूलाई मनन गर्नुपर्छ” भनेका थिए।
उक्त भनाइ त्यसपछिका दिनमा जापानी प्रधानमन्त्री शिन्जो आबेले दिएको वक्तव्यसँग जोडिएको थियो, जहाँ उनले भनेका थिए कि युद्धपछि जन्मिएका पुस्ताहरूलाई सधैं क्षमा मागिरहनु पर्ने भाग्यमा पार्न हुँदैन।
सन् २०१५ को उक्त परेडमा आबे र प्रमुख पश्चिमी मुलुकका नेताहरू सहभागी भएका थिएनन्।
गत नोभेम्बरमा जापानी प्रधानमन्त्री शिगेरु इसिबा र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पेरुमा पहिलो प्रत्यक्ष भेटवार्ता भएको थियो, जहाँ दुवैले “पारस्परिक लाभदायक” र “स्थिर” सम्बन्ध विकास गर्ने सहमति गरेका थिए।








फेसबुकबाट कमेन्ट गर्नुहोस्