सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मतपत्र च्यातेर गल्ती भयो, पाठ सिक्छौँः प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना गलत भएको बताएका छन् । मतपत्र च्यातिएको घटनालाई जोडेर माओवादीको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाइनु गलत हुने पनि प्रचण्डले बताएका छन ।

मंगलबार संसदमा सम्बोधन गर्दै प्रचण्डले भने–‘भरतपुरमा जो घटना भयो दुःखद छ, गलत छ । मैले च्यातियो भन्ने सुनेपछि नै गलत भयो भनेको छु र निर्वाचन आयोगलाई प्रधानमन्त्रीको हैसियतले बोलाएर जे ठीक लाग्छ त्यहि गर्नुस् भनेर भनेको छु । मतपत्र च्यात्नेलाई सही भन्न सकिँदैन ।’

मतपत्र च्यात्न पार्टीले निर्देशन नदिएको र निर्वाचन आयोगलाई पनि पुनः मतदान गर्न दबाव नदिएको प्रचण्डले प्रष्ट पारेका छन ।

प्रचण्डले भने– ‘अपवादको रुपमा यो घटना घटेको छ । ५र६ दिन अगाडि मैले उम्मेदवारलाई रेणु दाहाललाई के भने भनें–देवी ज्ञवालीको मत अन्तर बढ्दै गएको थियो, करिब ४ हजार पुगेको थियो । जिते पनि जित्यौ, हारे पनि जित्यौ ढुक्कसँग बस्नु भनें । त्यसपछि तीन दिनसम्म चितवनमा कसैसँग सम्पर्क भएको छैन ।’

दोस्रो संविधानसभा चुनावको मतगणनामा आफ्नो पार्टी पछि परेको बेला तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले मतपत्र जलाऊ, बाहिर निस्केऊ भनेर प्रतिनिधिहरुलाई निर्देशन दिए पनि आफूले रोकेको प्रचण्डले बताएका छन ।

भरतपुर घटनाबाट पाठ सिकिएको र अब सबैभन्दा निष्पक्ष चुनाव त्यहीँ हुने भन्दै प्रचण्डले भने–‘सबैको आँखा भरतपुरमा छ । यो विषय अदालतमा पनि पुगेको छ । अब सबैभन्दा निष्पक्ष चुनाव भरतपुरमै हुन्छ ।’

आफू लोकतान्त्रिकरण हुन लामो समय लागेको एमालेले उल्टै माओवादीलाई लोकतन्त्रको पाठ सिकाउन खोजेको भन्दै प्रचण्डले आक्रोश पोखेका छन ।

लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हतियार व्यवस्थापन लगायतका जोखिम ब्यहोरेको भन्दै प्रचण्डले भने–‘कति प्रमाण चाहियो, इतिहासदेखि वर्तमानसम्मको । १२ बुँदे सहमतिदेखि अहिले राजीनामा दिनेसम्मको । तपाईंहरुलाई कति वर्ष लाग्यो लोकतान्त्रिकरण हुन ?’

उनले अघि भने, ‘यति जोखिमपूर्ण कामहरु सहजतापूर्वक गरेका छौं । लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठाकै लागि गरिएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS