सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आज प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओली आज बाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्दै छन । वाम गठबन्धनले आज ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

राष्ट्रपतिबाट ओलीलाई बिहीबार नै प्रधानमन्त्रीमा नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने र पार्टी एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः समितिको बैठक बस्ने निर्णय गरेको थियो ।

एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको स्रोतले बताएको छ ।

उक्त सहमतिअनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटघाट गरी ओलीलाई प्रधानमन्त्री बनाउन दाबी गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ ।

विगतमा संसद्बाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति सम्बन्धी व्यवस्था गरेको छ । संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

एमाले र माओवादी केन्द्रसँग स्पष्ट बहुमत रहेकाले यी दुई दलले संयुक्त रूपमा प्रधानमन्त्रीमा ओलीलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष दाबी गर्ने भएका हुन । २ सय ७५ सदस्यीय संसद्मा वाम गठबन्धनका पक्षमा १ सय ८४ सिट छ । सरकार गठनका लागि १ सय ३८ सिट चाहिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्