सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पक्राउ परेका डा.केसीसँग बयान लिँदै सर्बोच्च

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वोच्च अदालतले बयान लिन सुरु गरेको छ । केसीसँग सुरुमा बयान लिने र बयान सकिए अबहेलना मुद्दामा सुनुवाइ सुरु हुने सर्वोच्च स्रोतले जनाएको छ ।

तर पेसी सूचीमा केसीको मुद्दा परेको छैन । बयान सकिए मंगलबार नै पूरक पेसी सूची सार्वजनिक हुनेछ वा अर्को दिन सुनुवाइ हुनेछ । केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी उपस्थित भएका छन् ।

केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च अदालत लगिएको थियो । सर्वोच्च अदालत वरपर मंगलबार बिहानदेखि नै सुरक्षा कडा गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए ।

केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसे लगत्तै अदालतमा मुद्दा दायर भएको थियो । डा. केसीलाई सोमबार साँझ नै अनसन स्थलबाटै पक्राउ गरिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्