सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यातायात पछी सिण्डिकेट तोड्ने पालो तरकारीको

यातायात क्षेत्रको सिण्डिकेट अन्त्यसँगै अब कृषि क्षेत्रको तरकारी लगायतका वस्तुमा भएको सिण्डिकेट पनि तोडिने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले कृषि क्षेत्रका तरकारी लगायतका वस्तुमा रहेको सिण्डिकेट ताडेरै छाड्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने–‘कृषकहरुलाई फाईदा हुने गरी म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ ।’ कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने र किसानले सिधै उत्पादनहरु बजारमा ल्याउने व्यवस्था गर्न सके सिण्किेट तोड्न सकिने उनले बताएका छन ।

उनले आफूले कृषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि बताएका छन । सिधै किसानको खातामा जानेगरी पेन्सन पठाउने भन्दै उनले भने, ‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ ।’

कृषिमन्त्री खनालले भारतसँग कृषिमा सहकार्य हुने विश्वास दिलाएका छन । मन्त्री खनालले भने–‘भारतमा जस्तो नेपालमा कृषि क्षेत्रको उचाई छैन, भारतको कृषि क्षेत्रमा भएको विकास, किसानलाई दिने अनुदान, व्यवस्थापनको स्तर नेपालमा छैन ।’ आफू निकट भविष्यमै भारत भ्रमणमा जाने जनाउँदै कृषि सम्बन्धी कार्यक्रमहरु अघि बढाउने मन्त्री खनालले बताएका छन ।

नेपालमा जमिनको समस्या रहेको बताउँदै उनले जमिनलाई वर्गिकरण गरेर समाधान खोज्ने बताएका छन । ‘हाम्रोमा जमिनको वर्गिकरण गरिएको छैन, यसको कारण प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम लागु हुन गाह्रो भइरहेको छ, यसको लागि ठीक ढंगले जग्गालाई केन्द्रिकृत गर्नुपर्छ, एकीकृत प्रणालीबाट अघि बढ्नुपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्