सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाढीले मच्चायो बितन्डा, ३० को मृत्यु, दर्जनौँ बेपत्ता

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न भागमा आएको बाढी पहिरोले ३० जनाको ज्यान गएको छ । बाढीपहिरोमा परी दर्जनौँ बेपत्ता भएको भनिएको छ तर एकिन विवरण भने संकलन भईनसकेको गृह मन्त्रालय स्रोतको भनाई छ ।

अविरल बर्षासँगै आएको बाढी र पहिराले पूर्वदेखि पश्चिमसम्मका तराई र केही पहाडी जिल्लाको जनजिवन अस्तव्यस्त बनेको छ । बाढीपहिरोले दुप्रै गाईवस्तु बगाएर बेपत्ता बनाएको छ भने खेतिबाली लगाएको जग्गा डुवान र कटानले नस्ट गरिदिएको छ ।

बाढिपहिरोमा परि ज्यान गुमाउनेको संख्या सबैभन्दा बढि पूर्वी क्षेत्रका जिल्लाहरुमा छ । प्राप्त जानकारी अनुसार सप्तरी, सुनसरी, मोरङ र झापा तथा पहाडी जिल्लाहरू तेह्रथुम र पाँचथरमा मात्र अहिलेसम्म १८ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयका अनुसार सबभन्दा बढी सुनसरीको इटहरीमा ७ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षाले स्थानीय बूढी खोलामा पानीको सतह बढ्दा केही केटाकेटीसहित सात जनाको शव फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी रमेश भट्टराईले जानकारी दिएका छन ।

त्यसैगरी बाढी पहिरोमा परी झापामा ४, मोरङमा ३, सिन्धुलीमा ४, पाँचथरमा ३, बाँकेमा ३ र बारा, दाङ, सर्लाही, पाल्पा तथा बर्दियामा १/१ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उद्धार तीव्र पार्न र बाढीपीडितलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिए पनि प्रभावकारी हुन सकेको छैन । बाढीप्रभावित क्षेत्रमा स्थानीयको बिजोग छ । पूर्व–पश्चिम राजमार्ग ठाउँठाउँमा भत्कँदा सवारी आवागमन ठप्प भएको छ।

विमानस्थलहरू जलमग्न हुनुका साथै र प्रतिकूल मौसमका कारण उडान पनि हुन सकेको छैन । गृहले झापा, मोरङ र सुनसरीमा सेनाका दुईवटा हेलिकप्टर उद्धारका लागी तयारीमा अवस्थामा राखेको जनाएको छ । चौबीस घन्टादेखि वर्षा नथामिएकाले उद्धार टोली प्रभावित क्षेत्रसम्म पुग्न कठिनाइ भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

रौतहटको परोहा गाउँपालिका स्थित लालबकैया नदीको भत्किएको पुर्वी बाँध मर्मत र स्थानीयबासीलाई अन्यत्र सुरक्षित स्थानमा सार्न गएको प्रहरी टोली समेत बाढीमा फसेको छ । देवाही ९ मा स्थानीयलाई उद्धार गर्न गएका ११ जनाको प्रहरी टोली आफैँ बाढीमा फसेको छ भने प्रेमपुर गोनही ८ मा पनि प्रहरी हवल्दार र प्रहरी जवान बाढीमा फसेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्