सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गायिका ज्योति मगरलाई स्टेजमा गाउन प्रतिवन्ध

लोकदोहोरी गायिका तथा कलाकार ज्योति मगरको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गरेको भन्दै गीत गाउन प्रतिबन्ध लगाइने भएको छ । इटहरीको तालतलैयामा वैशाख पहिलो साता हुन लागेको महोत्सवमा उनलाई गित गाउन प्रतिबन्ध लगाइएको हो ।

ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनीमाथी प्रतिबन्ध लगाएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उनीमाथी प्रतिबन्ध लगाइने बाताएकी हुन । उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताइन् ।

कार्यक्रममा उनले भनिन–‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’ उनले अन्य महोत्सवमा पनि इजाजत नदिन प्रजिअ गोपालप्रसाद पराजुली समेतलाई आग्रह गरिन् ।

ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने गौतमले बताएकी छिन । इटहरी उप–महानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको यो भनाइले नेपाली मनोरञ्जन क्षेत्र र अनलाईन मिडियाहरुमा राम्रै स्थान पाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्