सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गाडीको मुल्य १० हजार देखी ४ लाखसम्म बढ्यो

सरकारले बजेटमार्फत अन्तःशुल्क र सडक दस्तुर बढाएसँगै गाडीको मूल्य बढेको छ । नयाँ कर अनुसार गाडीको मूल्य निर्धारण हुन बाँकी छ । तर, कति सीसीका गाडीमा कतिसम्म मूल्य बढ्नसक्छ भन्ने मोटामोटी आंकडा आएको छ ।

व्यवसायीहरुका अनुसार नयाँ बजेटले गाडीको मूल्य ४.२ देखि ३० प्रतिशतसम्म बढ्नेछ । गाडीको मूल्यमा ६० प्रतिशतसम्म रहेको अन्तःशुल्क बढाएर सय प्रतिशतसम्म र्पुयाइएको छ । जसले ठूला इन्जिन क्षमताका गाडी झन् महंगो भएका छन् ।

नयाँ बजेटले १००० सीसीसम्मका गाडीमा १ प्रतिशत सडक दस्तुर मात्रै बढाएको छ । त्यसैले यो सिरिजका गाडीको मूल्य १० देखि २० हजारसम्म बढ्नेछ । यसआधारमा भन्दा इन्ट्री लेभलका सवारीहरुको मूल्य धेरै बढेको छैन ।

तर, मध्यम वर्गले बढी रुचाएको गाडीको मूल्य भने कम्तिमा १ देखि ४ लाखसम्म बढ्ने भएको छ । यसमा १००१ देखि १५०० सम्म ४.२ प्रतिशत र १५०१ देखि २ हजार सीसीसम्म ८ प्रतिशत मूल्य बढ्ने देखिन्छ ।

यसअनुसार १२ सय सीसीको गाडीमा १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म मूल्य बढ्न सक्ने विक्रेता बताउँछन् । फिचर्स थपिएका गाडीका हकमा बढ्ने मूल्य २ लाखसम्म पुग्नसक्छ ।

त्यसैगरी १५ सयभन्दा माथि र २ हजार सीसीम्मका गाडीमा ४ लाखसम्म मूल्य बढ्नसक्छ । बजेटले यो सेगमेन्टमा मूल्यको ११ प्रतिशत कर वृद्धि गरेको हो । विदेशी बजारको मूल्यमा २३ प्रतिशत कर बढेपछि २ हजारदेखि २५ सय सीसीसम्मका गाडीको बजार मूल्य १५÷१६ प्रतिशत मूल्य बढ्न सक्ने देखिएको छ ।

२५ सयदेखि ३ हजार सीसीका गाडीका हकमा खरिद मूल्यमाथि ३३ प्रतिशत कर बढेको छ । यसले मूल्यमा २५ प्रतिशतसम्म वृद्धि गर्नसक्ने व्यापारीहरु बताउँछन् । ३ हजार सीसीभन्दा माथिका गाडीमा अहिलेकोभन्दा ३० देखि ३२ प्रतिशत मूल्य बढ्नेछ । यो सेगमेन्टमा सरकारले खरिद मूल्यमा ४३ प्रतिशतसम्म कर बढाएको छ ।

‘साधारणतय १ करोड ६० लाखमा बेच्दै आएको गाडीमा अब ४० लाख रुपैयाँ बढ्छ,’ एक बिक्रेताले भने, ‘३ हजार सीसीभन्दा माथिका गाडीको मूल्य अब सानो हुँदैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्