सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘नाकाबन्दिको झल्को’ दिनेगरी बेलहियामा चेकजाँच

दुई वर्षअघिको भारतीय नाकाबन्दीको समयमासमेत प्रभावित नबनेको रुपन्देहीको बेलहिया नाका पछिल्लो एकसातादेखि असहज बनेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले माथीको आदेश भन्दै एक सातादेखी चेकजाँचको बहानामा कडाई गरेपछि बेलहिया नाका बन्द जस्तै देखीएको छ ।

यसअघि नाकाबन्दीको समयमा समेत बेलहियामा आयात निर्यातमा खासै प्रभाव परेको थिएन । एसएसबीले चेकजाँचको निहुँमा नेपालबाट भारत प्रवेश गर्ने सवारी साधनलाई कडाई गरेपछि सयौं सवारी साधन सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

भारतबाट नेपाल आउने सवारी साधन तथा यात्रुलाई भने भारतर्फ जाने भन्दा केही सहज बनाईएको छ । नेपालमा सामान अनलोड गरेर भारत जाने र भारतमा सामान लिन जाने मालबहाक सवारी साधनहरुलाई माथिको आदेश भन्दै एसएसवीले चेकजाँचमा कडा पारेको हो ।

सयौँ सवारी साधन बाहिरिने यो नाकामा भारतीय पक्षले दुईरचार जना सुरक्षाकर्मी राखेर लामो समय चेकजाँच गर्दा आयात निर्यात प्रभावित भएको छ । सीमानादेखि करिब ४ किलोमिटर वर नेपालतर्फ लोड गरेका र खाली गाडीको लाइन लागेको छ ।

सामान्य अवस्थामा दैनिक १८ देखि २० करोडको राजश्व संकलन हुने बेलहियाबाट अहिले दैनिक १२ देखि १३ करोड मात्रै राजश्व संकलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले बताएका छन ।

बिना कारण चेकजाँचको निहुँमा एउटै सवारी साधनलाई घण्टौ सीमामा रोक्दा यस क्षेत्रका ठूला उद्योगधन्दा र व्यवसायिक प्रतिष्ठानहरु प्रभावित बनेका छन् । नाका अवरोध हुँदा नेपालबाट भारत निर्यात हुने सामाग्री रोकिएको छ भने नेपालमा सामान छाडेर भारत फर्कने सवारी पनि अलपत्र परेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्