सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाह्रबिसेमा बाढीपहिरोले २ को मृत्यु, १६ बेपत्ता

सिन्धुपाल्चोकमा बुधबार राति बाढीले १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्तीमा पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका १८ जना बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ ।

स्थानीयका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । अझै नौ जना बेपत्ता छन्, उनीहरूको सेना र स्थानीय मिलेर खोजी गरिरहेका छन् । तीन जना घाइते रहेको र उनीहरूलाई उपचारमा लैजान माथिल्लो निकायमा हेलिकप्टरका लागि प्रयास भइरहेको बाह्रबिसे प्रहरीले बताएको छ ।

Sindhupalchok Jambu Badhi

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

जम्बुसम्म पुग्ने राजमार्गक्षेत्रको सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै प्रहरी टोली घटनास्थल पुगेको छ । जम्बुलगायत तातोपानी क्षेत्र जान मानेस्वाराको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । आधिकारिक विवरण आउन समय लाग्ने प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्