सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जहाँ सुहागरात मनाए त्यहीँ बेहुलाको रहश्यमय मृत्यु

रुपन्देहीमा केही दिन अघि भएको एउटा विवाहको दुःखद अन्त्य भएको छ । जर्बजस्ती बिबाह गरेको भनेर प्रश्न उठिरहेका बेला बेहुलाको रहस्यमय मृत्यु भएको हो । प्रहरीले यो विषयमा छानविन थालेको छ ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर–७ अमुवा हिरागञ्जका ३२ वर्षिय कर्णबहादुर बुढाथोकीलाई स्थानीय अन्दाजी ३२ वर्षिया रुकमणी खवाससँग प्रेम रहेको भन्दै उनको समुदायले जेठ २४ गते विवाह गराएका थिए ।

उक्त विवाहलाई बुढाथोकी परिवारले जर्बजस्ती भनेका छन् । बुढाथोकीका आफन्तका अनुसार विवाह नभए ज्यान मार्ने सम्मको धम्की आएको बुढाथोकीका आफन्त नैनबहादुर लोकचनले बताएका छन ।

‘केटा र उनका परिवारले उनलाई विवाह गर्नै मानेका थिएनन’ उनले भने, ‘केटी पक्षको ठूलो जमात आयो । ज्यान मार्नेम्मको धम्की दिए । पछि विवाह गर्न बाध्य भए ।’

विवाह भयो । त्यसपछि बेहुला घरमा बस्न मानेनन् । बेहुला–बेहुली बुटवलको दोस्ती रेष्टुरेन्ट एण्ड लजमा बस्न गएका थिए । लजका सञ्चालक किरण पाण्डेका अनुसार उनीहरु साँझ ६ बजे तिर पुगेका थिए । उनीहरुले १०८ नम्वर रुम बुक गरेका थिए ।

उनीहरुसँग एक महिलासहित ८–९ जना मानिस पनि आएका थिए । ती मानिस राती साढे दश बजेसम्म मादक पदार्थ सेवन गर्दै बसेका थिए । होटल संचालकले भने–‘केहि विवाद जस्तो पनि पाइन्थ्यो । तर, हामी त्यता पट्टि लागेनौँ । उनीहरु सवै जना राती हिँडे पछि उनीहरु दुई जना त्यस रुममा सुत्न गएका थिए ।’

बिहान दुलही सामान किन्न भन्दै बाहिर निस्किइन् । उनी करिव २० मिनेटमा फर्किइन् । कोठामा जाँदा चुक्कुल लगाएको पाएपछि स्टाफलाई बोलाइन् । ढोका हानेर खोल्दा बेहुला झुण्डिएको अवस्थामा फेला परे ।

त्यसपछि होटल सञ्चालकले प्रहरीलाई फोन हानेर बोलाए । मृतक बुढाथोकीका परिवारले मृत्युलाई रहश्यमय भन्दै छानविनका लागि प्रहरीमा उजुरी दिएका छन् ।

‘झुण्डिएको कोठाको ढोका खाल्दा चुक्कुल अडाउने किलाहरु नभाँचिनु, सेतो तन्नाको डोरी बनाएर पङ्खाको हुपमा नभई त्यसको पातामा डोरी थियो भनिनु, मृतकका परिवारजनलाई पहिला थाहा नदिई केटी पक्षका मानिसलाई बोलाई शव उठाउनु, करिब डेढ घण्टा पछि लुम्बिनी अञ्चल अस्पतालमा शव पुर्याएपछि मात्र आफुहरुलाई खवर गरिनु’ले उनको मृत्यु रहश्यमय रहेको मृतकका परिवाजनको भनाई छ ।

घटनाका सम्वन्धमा ईलाका प्रहरी कार्यालय, बुट्वलका प्रमुख डिएसपी केशव भट्टराईसँग सम्पर्क राख्दा उनले परिवारजनले जर्बजस्ती विवाहको दावी गरे पनि अनुसन्धानको क्रममा त्यस्तो नखुलेको बताएका छन ।

उनले भने–‘ति महिलासँग बुझ्दा राजखुशी विवाह गरेको खुलेको छ । २४ गते दिउँसो छिमेकीमा ती युवतीका आफन्तले स्थानीयको एक घरमा केटासँग भेट गराएको उनले बताएकी छन् ।’

प्रहरीका अनुसार उनले भनेकी छन–‘हामी दुई जनासँगै एक्लै कोठामा बस्यौँ । विगतको माया प्रेमको कुरा सम्झेर दुवै जना धेरै बेरसम्म रोयौं । दुवैले बिहे गरेर सँगै बस्ने हामीले निर्णय गरेपछि सबैले ताली बजाएर स्वागत गरे ।’

डीएसपी भट्टराईका अनुसार ती दुई जना होटलमा गई सकेपछि मात्र चार पाँच जना उनका आफन्त त्यस होटलमा पुगेका थिए । घटनाको गम्भीर तरिकाले अनुसन्धान भइरहेका डीएसपी भट्टराईले बताएका छन ।

विवाहको साँझ होटलमा पुगेका बुढाथोकीका साथी कमल भट्टराईले त्यस दिन साँझ उनीहरु हाँशी खुशी रहेको बताएका छन । उनले भने–‘उनी र म २२ वर्ष देखि निर्माण क्षेत्रमासंगै काम गर्दै आएका थियौं । उ मेरो मुटु थियो । ती केटी थारु समुदायकी हुन् । १२–१५ वर्ष देखि उनीसंग प्रेम थियो । तर गत एक वर्ष देखि उनीहरुको सम्वन्ध टाढिए पछि त्यहाँको समुदायले पटक–पटक उनीहरुलाई भेट गराउन खोजेका थिए ।’

मृतक पक्षका नैनबहादुर लोकचन भन्छन–‘भट्टराई र मृतक पहिल्लै देखिका मिलनसार साथी र निर्माण सेवा कम्पनीमा समेत पार्टनर थिए । तर पछिल्लो समय पहिला जस्तो सम्वन्ध राम्रो थिएन ।’

उनका साथी भनिएका कमल भट्टराई उनै व्यक्ति हुन जसले पहिला ती युवतीसँग विवाह नगर्न सुझाउने गरेका थिए । मृतककी आमा हिमकुमारी बुढाथोकीले विवाहका लागि पटक–पटक दवाद आएको बताएकी छिन ।

उनले भनिन–‘विवाह नगरे मार्ने सम्मको धम्की थियो । तर, पनि छोराले विहे गर्न मानेकै थिएन । छोराले आफै ज्यान हाले कै होईन, कसैले ज्यान लिए । हामीलाई शंका छ ।’ मृतक बुढाथोकीको पुर्खयौंली घर बाग्लुङ्गको बुर्तिबाङ्ग हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्