सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कुलेखानी भरिएपछी बाँध खोलिँदै, सतर्क रहनु

अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको ईन्द्र सरोवर भरिएको छ । ईन्द्र सरोवरमा पानीको बहाब अत्यधिक भएपछि बाँध खोलेर बढी भएको पानी निकालिँदै छ ।

कुलेखानीे ईन्द्र सरोवरमा क्षमताभन्दा बढी पानी जम्मा भएपछि जोखिम भएकाले जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको हो । ईन्द्र सरोवरको पानी कुलेखानी खोला हँुदै वाग्मती खोलामा मिसियर बग्ने गर्दछ ।

वाग्मती नदी बग्ने कुलेखानी भन्दा तल तराइसम्मका आसपासका वासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । त्यसैले मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ । बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ । ३७ वर्षअघि निर्माण गरिएको ड्याम समुद्री सतहबाट ११४ मिटर उचाइमा छ ।

kulekhani hydropower

केही घण्टापछि बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ । सतर्कताको लागि सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई पनि सजग रहन र आवश्यक तयारी गर्न भनिएको छ ।

कुलेखानी आयोजनालाई सुख्खायाका लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । कुनै प्रसारणलाइन बिग्रँदा वा सब–स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्छ ।

आपतका बेलामा सञ्चालन गर्न सकिने ‘रिजर्भवायर प्लान्ट’ प्राधिकरणसँग यो एक मात्र हो । सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्