सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजदरबार छाडेको हुँ, जिम्मेवारी होईन; पुर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राष्ट्र प्रतिको जिम्मेवारीबाट पन्छिएको नभइ तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर नारायणहिटी राजदरबार छाडेको बताएका छन । बैंककमा रहेका पूर्वराजाले नेपालका निर्माता नायक पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्तीका अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मंगलबार सदाझैँको सम्वोधन शैलीमा जारी गरिएको विज्ञप्तीमा उनले नेपाली जनताको इच्छा नै राज इच्छा हुने परम्परा रही आएको हुँदा आफु नारायणहिटीबाट मात्र बाहिरिएको उल्लेख गरेका छन ।

विज्ञप्तिमा भनेका छन–‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिन परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं । तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।’

उनले अगाडी भनेका छन–‘दशक नवित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन ।’

पुर्वराजा ज्ञानेन्द्रले जारी गरेको वक्तव्यको पूर्णपाठ

श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणाम स्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको छ ।

चार वर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनता बीचको एकता विथोल्ने, देशको सार्वभौम सत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् । यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ ।

स्मरणीय छ, नेपाली जनताको इच्छा नै राज इच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिन परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्र प्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।

दशक नवित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।

नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।

विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं । यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनै पर्दछ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन आह्वान गर्दछु ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्