सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आठ बर्षमा पनि बनेन तिन बर्षमा बन्नुपर्ने सडक

वर्तमान ओली सरकार जनताले अभिमत पाएर बनेको हालसम्मकै शक्तिशाली सरकार हो । चुनावी घोषणा पत्र देखी सरकारका निति तथा कार्यक्रममा समेत जनतालाई पानिजहाज देखी रेलसम्मका सपना बाँडेको सरकारले भइरहेका सडक र संरचना समेत प्रयोग गर्न योग्य बनाउन नसक्दा जनतामा निराशा पैदा भएको छ ।

भएका सडक त सवारीसाधन गुड्न योग्य छैनन् भने रेल र पानिजहाजका कुरा गर्नुको के अर्थ ? भन्दै आम जनताले वितृष्णा पोख्न थालेका छन् । देशभर जिर्ण र खाल्डा खुल्डी नभएको कुनै सडक छैन । बन्दै गरेका संरचना तोकिएको समयभन्दा बर्षौँ ढिला भईसक्दा पनि सरकार म्याद थप्नमै व्यस्त छ । यसैको एउटा उदाहरण बुट्वल–बेलहिया सडकखण्ड पनि हो ।

पटक–पटक म्याद थप हुंदै कार्तिकसम्म सक्ने बताइएको निर्माणाधिन बुटवल बेलहिया व्यापारिक मार्ग फेरि पनि भनेको समयमा पुरा नहुने निश्चित भएको छ । कूल २७ किलोमिटर दुरीको मार्ग अन्र्तगत मणिग्रामदेखि बुटवलसम्मको खण्ड निर्माण पुरा भए पनि मणिग्रामदेखि भैरहवासम्मको सडक निर्माण समयमा पुरा नभएको हो ।

तीन वर्षमा सक्ने लक्ष्यसहित शुरु भएको आयोजना आठ वर्षमा पनि पूरा नहुँदा सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ । धुलो र हिलोले विशेषगरी मोटरसाइकलमा यात्रा गर्नेहरुले सास्ती खेप्नुपरेको छ ।

सडक निर्माणका क्रममा डिजाइन परिवर्तन, शुरुको डिजाइनमा २ वटा नाला मात्र रहेकोमा थप २ वटा गरी ४ वटा नाला निर्माण गर्नुपरेको, विद्युत पोल र खानेपानी पाइप स्थानान्तरण, सडक सिमा भित्रका घर र संरचना हटाउन ढिलाई, कच्चा पदार्थको अभाव, तराई मधेश आन्दोलन, बन्द हड्ताल जस्ता कारणले आयोजना समयमै पुरा हुन नसकेको आयोजनाका प्रमुख जिवेन्द्र मिश्रको तर्क छ ।

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३ किलोमिटर सडक विस्तार कार्य भने अदालतको फैसलाले रोकिएको छ । चार प्याकेजमा ठेक्का सम्झौता गरी काम भएकोमा १२ किलोमिटर मध्ये ५ किलोमिटरमा बेसको काम समेत शुरु हुन सकेको छैन ।

७ किलोमिटर क्षेत्रमा मुख्य लेनमा ग्रावेल गर्ने र पहिलो लेयरमा अलकत्रा बिच्छाउने गरिएको भएपनि ५ किलोमिटर क्षेत्रभने खाडल सहितको धुलाम्मे छ । आयोजना प्रमुख इञ्जिनियर जिवेन्द्र मिश्रले यसवर्षको जेठ महिनादेखि असोज महिनासम्म नै पानी परेकोले काम गर्न कठिनाई भएको बताएका छन् ।

मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोक सम्मको ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम ईण्डिया लिमिटेड टिसिआईएलले एक अर्ब रुपैयां लागतमा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ ।

त्यस्तै सुनैनापथदेखि मधवलियसम्मको ३ किलोमिटर खण्ड ६२ करोड रुपैयां लागतमा कालिका रायमाझी र लखनचोकदेखि अञ्चलपुर सम्मको २ किलोमिटर सडक बिरुवा श्रेष्ठ एपेक्स जेभीले ४१ करोड रुपैयां लागतको ठेक्का सम्झौता गरी निर्माण गरिरहेका छन् ।

आयोजना प्रमुख मिश्रका अनुसार टिसिआईएलले निर्माण गरिरहेको दुई प्याकेजकै सडक ६० प्रतिशत निर्माण भएको छ भने कालिका रायमाझीले निर्माण गरिरहेको खण्ड ८७ प्रतिशत काम पुरा भएको छ ।

बिरुवा श्रेष्ठ एपेक्सले निर्माण गरिरहेको सडक जम्मा ५० प्रतिशत काम पुरा भएको छ । निर्माण कम्पनीहरुले ३० महिनामा पुरा गर्नेगरी २०७२ साल माघमा ठेक्का सम्झौता गरेका थिए ।

सम्झौता अवधि गत असारमै सकिए पनि मधेश आन्दोलन, भारतको नाकाबन्दी लगायतका परिस्थितिका कारण सडक निर्माण समयमै पूरा हुन सकिरहेको छैन । निर्वाचन, विभिन्न समुहको बन्द हड्ताल, बेमौसमी वर्षा, चाडपर्व लगायतका कारण २ सय १८ दिन काबु बाहिरको समय भन्दै अवधि थप गर्न निर्माण कम्पनीले आयोजनामा निवेदन दिएका छन् । आयोजनाले उक्त समय थप गर्दा निर्माण कम्पनीले आगामी फागुनसम्मको समय पाउने छन् ।

फागुनसम्म थपिएको समयमा पनि काम पुरा नगर्ने निर्माण कम्पनीसंग आयोजनाले जरिवाना असुल गर्न सक्ने छ । आयोजना प्रमुख मिश्रले फागुनसम्म सर्भिस लेन सहितकै सबै सडक निर्माण पुरा हुने दावी गर्छन् ।

यो मार्गको मुख्य सडक १०.४० मिटर चौडाईको चार लेन रहेको छ भने सर्भिस लेन दुवैतर्फ ६ मिटर चौडाईको छ । बिचको डिभाइडर ३ मिटर चौडाईको छ भने डिजाइन स्पिड ८० किमि प्रति घण्टा रहेको छ ।

आयोजनाको कूल लागत ५ अर्ब ८६ करोड हो । स्थानीय तहहरुले नदिजन्य वस्तुको ठेक्का लगाई नसकेकोले बांकि रहेको सडकमा नदिजन्य पदार्थको अभाव छ ।

समयमै नदीजन्य पदार्थ उपलब्ध नभए फेरि फागुनसम्म पनि सडक पुरा नहुने अवस्था आउन सक्छ । आयोजना प्रमुख मिश्रका अनुसार अझै ४० हजार घनमिटर नदिजन्य पदार्थ आवश्यक पर्छ । प्रत्येक वर्षको विनियोजित वार्षिक बजेटको ९५ प्रतिशत भन्दा बढी रकम भने आयोजनाले खर्च गरेको छ ।

बुटवल बेलहिया ब्यापारिक मार्ग अन्र्तगत भैरहवाको सडक र डण्डा पुलको निर्माण जिम्मेवारी लिएको कालिका तामाङ प्यासेफिक जेभीलाई करिव एक करोड जरिवाना तिराइएको छ । गत मंसिर महिनामा सम्पन्न गरी सक्नुपर्ने काम समयमा नसकेपछि उक्त कम्पनीले ९४ लाख ७९ हजार रुपैया राजश्वमा दाखिला गरिसकेको आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्