सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दाईजोमा लैनो भैँसी नपाएपछी जग्गेमै सिउँदो पुछियो

‘गरिब के कोनो जिन्गी अई हुजुर !’ (गरिबको कुनै जिन्दगी हुन्छ र हजुर !) कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरे पनि छोरी बेहुली भएर दुलाहा घर जान नपाएकी घटनाले आहत भएका महोत्तरी बर्दिवास–८, फूलबारी वस्तीका ५५ वर्षीय रामप्रकाश कापर अहिले सबैसँग यस्तै बिलौना गरिरहेका भेटिन्छन् ।

गत माघ ९ गते विवाह गरिदिएकी छोरी अमृतालाई सम्धी दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका रामप्रकाश छोरीको घर नभएको चिन्ताले पिरोलिएका छन् ।

‘धनले गरिब छि, मुदा मन से नई’ (धनले गरिब छु, मनले होइन) रामप्रकाशले भने–‘सम्धीकै एक लाख ६० हजार नगद आ एक लाख ९० हजार मूल्यके नव्का मोटरसाइकल देली’ (सम्धीलाई एकलाख ६० हजार नगद र एकलाख ९० हजारमा किनेर नयाँ मोटरसाइकल दिएँ) । रामप्रकाशले अगाडि भने–‘मुदा, कुटुम्ब हमर दिकत नई बुझ्लैन’ (तर, कुटुम्बले मेरो अप्ठ्यारो बुझेनन ।)

रामप्रकाश र धनुषाको कान्छि बजारका बेहुलाका बाबु दुखी कापरबीच बिहेमा एउटा होन्डा साइन मोटरसाइकल र नगद सहित साढे तीन लाख दाइजोमा कुरा मिल्यो । रामप्रकाशले सो रकम बिहेअघि नै पूर्ति गरिदिए पनि बिहेमा खाना खाने बेलामा दुलाहा रौदी कापरले लैनो भैंसी नपाए नखाने बताएपछि विवाद बढ्दा अमृताको घर नभएको फूलबारी टोलका बासिन्दा बताउँछन् ।

बस्तीमा रामप्रकाशले भाइ नाता लगाउने गणेशी महतोले भने –‘रामप्रकाश भैया त एकसाल वाद भैँस सेहो देवाक बतौने छला, मुदा दुलहा मरवा स निकैलक माइरपिटमे उतइरगेला’ (रामप्रकाश दाइले त भैँसी नै पनि एक वर्ष पछी दिउँला भन्नुभयो, तर दुलाहा त मरवा (विवाह यज्ञस्थल)बाट निस्केर कुटपिटमै ओर्लनुभयो ।)

विवाह समारोहमै धक्कामुक्का चल्न थालेपछि प्रहरीलाई खबर गरिएको गणेशी महतो सहितका फूलबारी बस्तीका बासिन्दा बताउँछन् । पछि चौलीखा प्रहरी चौकीको समन्वयमा दुई दिनपछि सामाजिक छलफल गराइने गरी जन्ती बेहुली नै नलिई घर फर्केपछि रामप्रकाश इन्तु न चिन्तुका बनेका छन् ।

रामप्रकाशले लामो सुस्केरा लगाउँदै दुःख पोखे–सहमति भएको रकमसँगै दुलाहाको पोसाक ५६ हजार लगाएर दिँदा पनि कुटुम्ब बाङ्गिएका रामप्रकाश बताउँछन् । ‘बेटिके ब्याहके लेल जे जेना मगलक, तेहिना जमिन बेच्क ढेउवा व्यवस्था कैली, आब सबकुछ् हात स छुटल ।’ (छोरीको बिहेका लागि ज–जसले जसरी मागे, त्यसरी जग्गा बेचेर पैसा जुटाएँ, अब सबै कुरा हातबाट गयो ।)

यता, बेहुला पक्षकाले भने खानेबेलामा केटी पक्षले भद्दा गालीगलौज गरेर बेहुला र जन्तीलाई अभद्र व्यवहार गरेकाले स्थिति बिग्रिएको बताएका छन् । ‘खाने बेलामा ससुराली पक्षसँग केही सामानका लागि दङ्गयाउने त मैथिल स्थापित परम्परा नै हो नि !’

बेहुला पक्षका सभ्रान्तजस्ता देखिने एक जनाले छलफलमा भन्दै थिए– ‘दुलहाले खाने बेलामा भनेको कुरा त माग नभएर मैथिल संस्कार हास–परिहास न हो, सक्नेले दिन्छन, नसक्नेले बेहुलालाई कुराले मनाएर ख्वाउन लगाउँछन ।’ बेहुला पक्षकाले यस्तो बताए पनि उनीहरु दुलाहाकै नेतृत्वमा धक्का मुक्कामा ओर्लिएका दुलही पक्षको भनाइ छ ।

यता आफ्नो बिहेमा बेहुला पक्षको रडाको नजिकबाट देखे बुझेकी अमृता भने अझै पढ्न चाहन्छिन् । एक वर्षअघि नौ कक्षा उत्तीर्ण गरेर पढाइ थन्किएकी अमृताले नेपालीमै भनिन–‘दुष्ट रहेछन, जग्गेमै धक्कामुक्कामा ओर्लिए, सायद म त्यो घरमा सञ्चसँग बस्न सक्ने थिइन होला, जे हुनु भयो । अब पढ्न पाए हुन्थ्यो ।’

आफ्नो उमेर नगएको र पढिलेखी ज्ञान र सीप आर्जन गर्न सके दाइजो नमागी बिहे गर्ने केटा पनि पाउन सक्ने अमृताको विश्वास छ । बिहे भएर घर (बेहुलाको घर) नै नपुगी परिबन्दले दुई दिनपछि नै सिन्दूर पुछेकी अमृताको पढ्ने रहर पूरा हुने नहुने केही ठेगान छैन । गरिबीले छोरीको चाँडै बिहे गर्न परेको बताउने रामप्रकाशको परिवारले बिहे गरेर छोरी घर जान नसकेपछिको घटनाले आफ्नो सामाजिक मर्यादामा आँच पुगेको ठानेका छन ।

आफन्तसँगको कुराकानीमा रामप्रकाशका परिवारजन छोरीलाई पढ्न पठाउनभन्दा अर्को केटा खोजेर बिहे गरिदिने कुरामा लागेका देखिने गरेको उनका छिमेकी बताउँछन् । यसैबीच, भनेजती दाइजो नपाउँदा बुहारी, पत्नी छोडेर हिँड्ने बेहुलाका बाबुछोरालाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने महिला अधिकारकर्मी शारदा थापाको भनाइ छ । रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्