सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मंसिरसम्म वायुसेवा निगमले ठुलो जहाज भित्र्याउने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानका लागि आगामी मंसिरसम्म एउटा वार्इड बडी जहाज ल्याउने भएको छ । सोमबार राजधानीमा नेवानिको तीन वर्षे सुधार कार्ययोजना सार्वजनिक गर्दै महाप्रबन्धक सुगतरत्न कंशाकारले यस्तो जानकारी दिएका हुन् ।

पहिलो वार्इड बडी जहाज भित्रिएको तीन महिनापछि माघमा दोश्रो वार्इड बडी जहाज ल्याउने कार्ययोजनामा उल्लेख छ । नेवानिले वार्इड बडी जहाज ल्याएर कोरिया, जापान, लण्डन, सिंगापुरमा ट्राञ्जिट बनाएर अष्ट्रेलियासम्म उडान विस्तार गर्ने योजना बनाएको छ ।

तीन वर्षे सुधार कार्ययोजनामा नयाँ जहाज खरिदसहित नेवानिको व्यवस्थापकीय लगायतका विषयमा सुधार गर्ने उल्लेख गरिएको छ । नेवानिको आन्तरिक सुधार, आगामी रणनीति तथा तत्काल र दीर्घकालीन महत्वका लागि हुने कामको गतिविधिसहित निगम सुधार कार्ययोजना पहिलोपटक सार्वजानिक गरिएको हो ।

सुधार कार्ययोजनामा व्यवस्थापन, आवश्यक दक्ष र प्राविधिक जनशक्तिको आवश्यकताअनुसार आउटसोर्सिङ, निगमको आर्थिक पारदर्शिता, निगम सुधारको निम्ति स्पष्ट कानुनी व्यवस्था गर्ने लगायत उल्लेख छ ।

महाप्रबन्धक कंशाकारले विश्वभरका २ सय स्थानबाट उपभोक्ताले अनलाइन टिकट किन्न सक्ने व्यवस्था ६ महिनाभित्रै मिलाउने बताए । उनका अनुसार अवदेखि निगमले अनलाइन खरिद र अनलाइन टेन्डर प्रणालीलाई प्राथमिकता दिइएर काम गर्नेछ ।

नेवानिले दुर्इवटा वार्इड बडी जहाजसहित २०७४ बैशाखसम्म एउटा न्यारो बडी र असारसम्म अर्को न्यारो बडी जहाज ल्याउने भएको छ । यी जहाज थपिएसँगै नेवानिसँग अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको संख्या ६ पुग्ने छ । नेवानिले अहिले दुर्इवटा न्यारोबडी एयरबस र दुर्इवटा पुराना बोइङले सातवटा गन्तव्यमा उडान गरिरहेको छ ।

Nepal-Airlines-A320-2015-b

‘धेरैले यो सुगतरत्न खाली जहाज किन्ने मात्रै कुरा गर्छ भन्छन्’ उनले भने- ‘जहाज नभई नहुने भएकाले मैले यस्तो कुरा विगतदेखि नै गर्दै आएको हुँ ।’ नेवानिमा जहाज नकिनेमा सुतेर बस्नु सिवाय केही नहुने उनको भनार्इ थियो ।

नेवानिले जहाज किन्नका लागि सरकारसँग ऋण मागेको महाप्रबन्धक कंशाकारले सुनाए । ‘अन्य देशमा राष्ट्रिय ध्वजाबाहक बिमान किन्नका लागि सरकारले अनुदान नै दिन्छ, नेपालमा भने अहिलेसम्म अनुदान दिइएको छैन’ उनले भने- ‘हामीले ऋण मागेका छौं । मलाई विश्वास छ, सरकारले ऋण दिनेछ ।

निगमले अन्तराष्ट्रिय उडानका लागि ४ वटा जहाज किन्न सरकारसँग ३७ अर्ब रुपैयाँ ऋण मागेको छ । २ वटा वार्इड बडी किन्न २५ अर्ब र २ वटा न्यरो बडी जहाज किन्न १२ अर्ब रुपैयाँ माग गरेको कंशाकारले बताए । वार्इड

बडीको किन्न लाग्ने रकम ऋण मिलाइदिन निगमले अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ भने न्यारोबडीका लागि पनि सोमबार प्रस्ताब पठाइएको छ । नयाँ गन्तव्यमा उडान भरेर प्रसस्तै नाफा कमाउने महाप्रबन्धक कंसाकारले बताए । तर, आगामी तीन वर्षपछि निगमले कति कारोबार गर्छ र कति नाफा कमाउँछ भन्ने चाहीँ उनको कार्ययोजनामा उल्लेख छैन ।

नेवानिले ब्रान्ड एम्बास्डरमा हाँस्य कलाकार जितु नेपाललार्इ नियुक्त गरेको छ । कार्यक्रममा उनले नेवानिको बजार प्रबर्द्धनमा सक्दो सहयोग गर्ने बताए ।

अनलाईनखबरबाट जस्ताको तस्तै  ;

फेसबुकबाट कमेन्ट गर्नुहोस्