सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल १७ बर्षपछी साग फुटबलको फाईनलमा

दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ४-३ को गोल अन्तरले हराउँदै नेपाल १७ बर्षपछी साग फुटबलको फाईनलमा पुगेको छ । भारतको गुवाहटीमा शनिबार राति भएको खेलमा नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा नेपालले माल्दिभ्समाथि रोमान्चक जित हात पारेको हो ।

खेलको १५ औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । खेलको ३६ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । तर, दोस्रो हाफमा माल्दिभ्स खेलमा फर्कियो । ५२ औं मिनेटमा माल्दिभ्सका मोहम्मद हम्जाले गोल गरे ।

६५ औं मिनेटमा नेपाललाई ठूलो धक्का लाग्यो । कमल श्रेष्ठ दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसको माल्दिभ्सले फाइदा उठायो र नेपाललाई लगातार दबाबमा राख्यो ।

Saaf Game 2016 with maldivs

८५ औं मिनेटमा नासिदले बराबरी गोल फर्काए । खेलमा थप गोल भएन र अतिरिक्त समयमा धकेलियो । ११५ औं मिनेटमा हसन जइजले गोल गर्दै माल्दिभ्सलाई ३-२ अग्रता दिलाए । तर, अन्तिम दुई मिनेटमा नेपालले दुई गोल फर्काउँदै नाटकीय जित हात पार्यो ।

खेलको अन्तिम मिनेटमा नवयुगले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा जाने धेरैको अनुमान थियो । तर, खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा नवयुगले हृयाट्रिक पुरा गरे र नेपाल विजयी भयो ।

खेलको इन्जुरी समयमा अर्को गोल थप्दै नवयुगले ह्याट्रिक पूरा गरेपछि नेपाल माल्दिभ्समाथि ४–३ गोल अन्तरको जित निकाल्न सफल भएको हो । भारतमा जारी १२ औँ दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको फाईनलमा पुगेको नेपालले अब उपाधिका लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

१९८४ र १९९३ मा साग फुटबलमा स्वर्ण जितेको नेपालले १९९९ मा फाइनल खेलेको थियो । त्यसबेला पनि माल्दिभ्सलाई हराएर नेपाल फाइनलमा पुगेको थियो, शनिबार इतिहास दोहोरीएको छ । उसो त नेपालले बङबन्धु कपको फाइनल यात्रा तय गर्ने क्रममा पनि माल्दिभ्सलाई नै हराएको थियो र, उक्त खेलमा पनि नवयुगले हृयाट्रिक गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्