योजनाको बजेटमा सांसदको आफुखुशी
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरुलाई जिल्लामा सञ्चालीत योजनामा बजेट खर्च गर्न दिइएको अधिकारको दुरुपयोग भएको पाईएको छ । ‘सुशासन महासंघ’ नामक संस्थाले गरेको अध्ययन अनुसार सांसदहरुले आफु अनुकुल बजेटको दुरुपयोग गर्दा योजनाबाट लक्षित वर्गले लाभ लिन नसकेको देखिएको छ ।
संस्थाले सिन्धुपाल्चोक, कास्की र सुनसरी जिल्लामा संचालित २७ वटा योजनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत संचालित योजनाबाट स्थानीय जनताले लक्षित लाभ पाउन नसकेको दावी गरीएको छ ।
अध्ययनमा संलग्न इन्द्रबहादुर भुजेलका अनुसार सांसदहरुले कार्यविधि विपरित आफूखुशी योजना छनोट गर्ने गरेको तथा उपभोक्ता समितिको क्षमतालाई बेवास्ता गर्दा कतिपय योजनाको बजेट दुरुपयोग भएको देखिएको छ । अध्ययन प्रतिवेदन अनुसार सांसदहरुले उपभोक्ता समितिको क्षमता नै नहेरी योजनाहरु कार्यकर्ता खुशी पार्ने हेतुले वितरण गर्ने गरेको पाईएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्र्तगतका योजना जिल्ला विकास समितिमा रहेको कार्यक्रम व्यवस्थापन तथा निर्देशक समिति मार्फत छान्नुपर्ने व्यवस्था छ । तर सांसदहरुले समितिको बेवास्था गरी आफै ढिला गरी योजना छनोट गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी आफुखुशी छनोट गरीएका योजनाको औसतमा ८० दिन मात्र काम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्र्तगत उपभोक्ता समिति मार्फत एउटा योजनाका लागि सांसदले १० लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ । सांसद्हरुले योजना दिने उपभोक्ता समितिहरुमध्ये ९५ प्रतिशत समितिमा राजनीतिक कार्यकर्ता रहेको पनि प्रतिवेदनमा उल्लेख छ । महासंघले आफ्नो अध्ययन प्रतिवेदन बुधबार व्यवस्थापिका संसदको विकास समितिमा बुझाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्