सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हिलारी र ट्रम्पबीच अन्तिम प्रतिस्पर्धा

आगामी नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच प्रतिस्पर्धा हुने भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट आफ्नो उम्मेदवारीका लागि आवश्यक न्यूनतम प्रतिनिधिहरूको समर्थन पाएपछि हिलारी क्लिन्टनले ट्रम्पसँगको भिडन्त पक्का गएकी हुन् । रिपब्लिकन पार्टीको तर्फबाट दुई प्रतिस्पर्धीलाई पन्छाउँदै ट्रम्पले आफ्नो उम्मेदवारी सुरक्षित गरिसकेका छन् ।

ठूलो संख्यामा प्रतिनिधिहरू रहेका क्यालिफोर्निया र न्युजर्सीमा भोट हुनुअगावै उनले आफ्नो उम्मेदवारीका लागि आवश्यक २ हजार ३ सय ८३ प्रतिनिधिहरूको समर्थन पाएको एपीले जनाएको छ । क्यालिफोर्नियामा ५ सय १३ र न्युजर्सीमा १ सय ४२ डेलिगेट्स रहेका छन् ।

यद्यपि, क्लिन्टनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले भने अहिले नै क्लिन्टनको उम्मेदवारी निश्चित भएको भन्नु हतार हुने बताएका छन् । आगामी १४ जुलाईमा हुने डेमोक्रेटिक पार्टीको सम्मेलनबाट अन्तिम फैसला हुने उनले बताएका छन् । पार्टी सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारको औपचारिक घोषणा हुनेछ । पार्टी सम्मेलनमा ४५ सुपर डेलिगेट्सहरूले मतदान गर्नेछन् ।

यद्यपि, पार्टीले गर्ने घोषणामा पनि जनसमर्थनलाई मुख्य आधार बनाइने हुँदा क्लिन्टन नै उम्मेदवार बन्ने निश्चित हुने छ । क्लिन्टनलाई अहिले १ हजार ८ सय १२ डेलिगेट्सको समर्थन प्राप्त भइसकेको छ भने ५ सय ७१ सुपर डेलिगेट्सको समर्थन पनि निश्चित भएको जनाइएको छ ।

सुपर डेलिगेट्सहरूले राष्ट्रपति पदको उम्मेदवारका लागि निर्णायक भोट खसाल्न सक्ने भए पनि जनसमर्थनलाई भने उल्टाउन सक्ने छैनन् । उनी अमेरिकाको इतिहासमा २ सय २७ वर्षपछि प्रमुख पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो महिला बन्नेछिन् ।

अमेरिका स्वतन्त्र भएपछि जर्ज वासिंगटन १७८९ मा पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । ४३ पुरुष राष्ट्रपतिपछि ह्वाइट हाउस यात्राको अन्तिम प्रतिस्पर्धामा पुग्ने हिलारी पहिलो महिला हुन् । हिलारीले सन् २००७ मा पनि राष्ट्रपति पदको उम्मेदवारको प्रतिस्पर्धामा उत्रिएकी थिइन् । तर, त्यसबेला उनी डेमोक्रेटिक पार्टीकै बाराक ओबामासँग पराजित भएकी थिइन् ।

अहिले उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सलाई पछि पारेकी छन् । उनले समग्रमा डेमोक्रेटिक पार्टीका ५५ प्रतिशत प्रतिनिधिको समर्थन हासिल गरेकी छन् । यता, डेमोक्रेटिक पार्टीका अर्का प्रतिस्पर्धी बर्नी स्यान्डर्स भने क्यालिफोर्नियामा जित हात पार्दै उम्मेदवारीको दौड पार्टीको सम्मेलनसम्म पु¥याउन चाहन्छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्