सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नयाँ शक्तिबाट पहिलो दिन नै कानुनको उल्लङ्घन

नयाँ शक्तिले पार्टी घोषणाकै दिन कानुन विपरीत पुर्व स्वीकृत नै नलिई रंगशालाको आकाशमा मानवरहित यान ‘ड्रोन’ उडाएको छ । कानुन अनुसार‘ड्रोन’ उडाउन प्रशासनबाट अनुमति लिनुपर्ने हुन्छ ।  आइतबार आयोजित पार्टी घोषणासभामा नयाँ शक्तिको झण्डा बोकेको ड्रोन रंगशालाको आकाशमा उडेको थियो । भट्टराईले पार्टी घोषणा गर्नुअघि आकाशमा उडेको उक्त ड्रोन विना अनुमति उडाइएको पाइएको छ ।

नयाँ शक्तिले उडाइको ड्रोन विना अनुमति उडाइएको पुष्टि गर्दै सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने, ‘सञ्चार मन्त्रालयले रंगशालामा ड्रोन उडाउन अनुमति दिएको छैन ।’ धेरै तडकभडकका साथ उद्घाटन भएको बाबुरामको नयाँ शक्ति स्थापना भएकै दिन यो दलबाट गम्भीर रुपको कानुन उल्लङ्घन भयो । जुन कुरा गर्न सरकारबाट अनुमति दिनु/लिनुपर्छ, त्यही कुरा भएन भने त्यो मानवीय त्रुटि मात्र होइन, त्यसले आफू राज्यभन्दा माथिको ठानिएको अवस्था हो । यो शक्ति सरकारमा भएको भए र कसै अरुले यस्तो काम गरेको भए यसले के गर्ने थियो भन्ने  प्रश्न निरुत्तरित छ, जसको जवाफ यसले दिनुपर्छ ।

आकाशमा उड्ने ड्रोन आकाश प्रयोगको कानुनभित्र पर्ने कुरा हो जसलाई नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्छ । यो आकाशको ट्राफिक नियम पनि उल्लङ्घन भएको अवस्था हो । आकाश मार्ग प्रयोग गर्दा जोसुकैले पनि यसको नियम पालना गर्नैपर्छ । अनुमतिविना नै आकाश मार्ग प्रयोग गर्दा त्यहाँ कुनै दुर्घटना भएको थियो भने त्यसको दोष कसले लिने भन्ने प्रश्न सामान्य होइन ।  जस्तो यो पार्टी घोषणा भएको रंगशाला पनि त सरकारबाट अनुमति लिएर प्रयोग भएको मानौं । तर यो अनुमति भुइँको लागि हो ।

सरकारी अधिकारीले नै भनेका छन्, ‘आकाश प्रयोग हुनेबारे कुनै अनुमति लिइएको छैन ।’ अब यो दल वास्तवमै नियमकानुनअन्तर्गत चल्ने हो भने यो बलपूर्वकको काम कसरी भयो जवाफ दिनैपर्छ । नियमकानुनका सन्दर्भमा बाबुरामको विगत ठीक छैन । उनीप्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीको हैसियतले नै व्यक्तिहत्या जस्तो जघन्य अपराधीलाई पक्राउ नगर्नू, पक्राउ परेका भए छाडिदिनू र थप प्रमाण नखोज्नू, खोजिएको भए सबै तुरुन्तै नष्ट गरिदिनू भनी त्यस्तो अनुसन्धान गर्ने निकाय प्रहरीलाई पत्र लेखेको कुरा जगजाहेर नै छ । त्यसलाई सम्झिएमात्र पुग्छ ।

उनको यो लिखित निर्देशन त्यस बेलाको नियमकानुनविपरीत थियो । हत्या जस्तो घटनामा छानबिन गर्ने एउटैमात्र र आधिकारिक निकाय भनेको प्रहरी नै हो । त्यसैलाई अर्थात् उसले कर्तव्य निर्वाह गर्दा त्यसबाट यस्तो पदाधिकारीले च्यूत गराउन खोजेको कुरा सामान्य होइन ।

अनुमतिविना ड्रोन उडाइएको कुरा पनि त्यस्तै हो अर्थात् आफूलाई देशको प्रचलित नियमकानुनभन्दा माथि रहेको ठानिएको अवस्था । यसबारे सम्बन्धित निकायले प्रष्टीकरण लिएर कारबाही गरिएन भने यो अर्को डरलाग्दो विषय हुने छ । त्यो वस्तु यसरी आकाशमा उडेको देख्नासाथ निकायले खोजीनीति गर्नुपर्ने थियो, त्यसो भएन । त्यसको दुई दिन बितिसक्दाको अवस्था पनि त्यस्तै छ, कुनै जानकारी नराखिएको जस्तो ।

यो काम यो दलका घोषणा हुँदा उसैले बताएको संख्या एक लाखले देखेका छन् । त्यहाँ एक लाखको उपस्थिति हुने दाबी गरिएको थियो । नियमकानुनको खुलेरै अपहेलना भएको यो कामलाई यो संख्याले देखिसकेको छ । त्यसकारण पनि निकायहरुले यसलाई अनदेखा गर्न पाउँदैनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्