सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अफगानिस्तानमा मृत्यु भएका १२ नेपालीको नाम

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगानस्तानको गृहमन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिँड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफूलाई बिष्फोट गराएका थिए ।

यता नेपालमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी अहिलेसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले मृत्यु भएकामध्ये दुई जना नेपाली हुन् वा अन्य देशका भन्ने बारेमा यकिन हुन बाँकी रहेको बताउनुभएको छ ।

Nepali death in afganstan bomb blast

काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा तालिबानले आक्रमण गरेको थियो । बम आक्रमणमा परी घाइते भएका सात जना नेपालीमा चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा, मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, सुर्खेतका अमृत रोकाय क्षेत्री र नुवाकोटका च्याङ्बा तामाङ रहेका छन् ।

घाइतेहरुको उपचार सुनिश्चित गर्न, मृतकको शव नेपाल पठाउन र अन्य समन्वयका लागि मन्त्रालयले पाकिस्तानका लागि कार्यवाहक राजदूत तिर्थराज अर्याललाई काबुल पठाएको छ । अफगानिस्तानमा नेपालीहरुलाई लक्षित गरेर आत्मघाती बम विष्फोट गराइएको यो पहिलो घटना हो ।

बम बिस्फोटमा मृत्यु भएकाको नाम

१. अकुर तामाङ, सुनसरी
२. चन्द्रबहादुर रानामगर, काठमाडौं
३. हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
४. विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
५. अमृतबहादुर थापा, लमजुङ
६. सुकबहादुर गुरुङ, स्याङ्जा
७. डम्बरबहादुर तामाङ, नुवाकोट
८. मधुसुदन कोइराला, नुवाकोट
९. लिलबहादुर गुरुङ, नुवाकोट
१०. नवीनसिंह क्षेत्री, पर्वत
११. कृष्णबहादुर ढुंगाना, चितवन
१२. जितेन्द्रसिंह थापा, बुटवल

फेसबुकबाट कमेन्ट गर्नुहोस्