सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेल्लो सरकार ! को हो गुगल ब्वाय ?

सुस्मा रुपाबुङ्ग राई/ईलाम

सबै सहमती भएर रुखपातलाई पनि केपी शर्मा ओलि प्रधानमन्त्री हुने पक्का भैसकेपछि यी गुगल ब्वाय नामधारीले अबको प्रधानमन्त्री केपि वली हुन्छ भनेर भन्दीएको बदलामा सरकारले एक करोड दिने निर्णय गरेको होत ? हेल्लो सरकार !

जनताहरुलाई लागेको कुरा या गुनासो सिधै भन्नको लागि हेल्लो सरकारको सुबिधा छ भन्ने सुनेको थिएँ । सिस्टम थाहा छैन तर आज आफ्नै फेसबुकको वालबाट आफै हेल्लो सरकार कनेक्ट गर्दैछु । बैरो र अन्धो सरकारले जनताको हेल्लो सुन्छ भन्ने कुरामा बिश्वास त छैन तै पनि यी कुराहरु नलेखी बस्नै सकिन !

आदित्य नामको एउटा शारिरिक र मानसिक रुपमा असक्षम, खै कसले हो गुगल ब्वायको न्वारान गरिदिएको । मलाई यी बालकसङ्ग कुनै गुनासो छैन, बिचरा उ आफै आफ्नो उमेर अनुसार सपाङ्ग भई विकसित हुन नसकेको पिडामा सङर्ष गरिरहेको छ, तर यिनै बालकको असक्षमतालाई अद्धितिय शक्ति भनेर भ्रम फैलाउने मानसिक रोगीहरुलाई केही नभनी बस्न सकिन !

धेरै समय अघि देखि म फेसबुक भरी जताततै देख्दै आईरहेको छु, अलि अस्तिनै मात्र राष्ट्रको ढुकुटिबाट एक करोड खर्च गरी उपचारका लागी अमेरिका लगेको र आजै फेरि अर्को समाचार आएको छ, यही आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड दिईने भनेर !

Google Boy Aditya Dahal

यदि यो सत्य हो भने, यो गुगल ब्वायले आज सम्म रास्ट्रले गौरव गर्ने खालको के काम गरेको छ ? उसले कसैलाई प्रधानमन्त्री हुन्छ भनेर चिन्दा यो देशलाई र जनतालाई के फाईदा भो ? त्यतिबेला लाखौँ एमाले समर्थकले केपी वली प्रधानमन्त्री हुन्छ भनेका थिए अब के तिनिहरु सबै गुगल ब्वाय र गर्ल भए त ?

यो देशले फुटबल फाईनल जित्छ भन्दा राष्ट्रलाई के फाईदा भो ? र त्यो त लाखौँ मान्छेहरुले चिनेर उनिहरुले पनि यो देशले फाईनल जित्छ भनेर कन्फिडेन्टका साथ लाखौँको बाजि राखेर जिते । अब के ती सबैलाई गुगल म्यान मान्नु त ? यत्ति अनुमान त त्यो रत्नपार्कमा बहुलाएर हिड्नेले पनि गर्न सक्छ ।

के को आधारमा उसलाई गुगल ब्वाय मान्ने हँ ? यदि उसङ्ग यति नै अद्दितिय क्षमता छ भने त्यो पोहोर बैशाख १२ गते त्यत्रो भुईँचालो आउँदा, भुईँचालो आउँछ सबै सुरक्षित रहनुहोला किन भन्न सकेन ? एउटा सानो संकेत सम्म किन दिएन ?

अस्ति भर्खरै मात्र १२ जना नेपालिले अफगानिस्थानमा ज्यान गुमाए । उनिहरुको बारेमा किन भविश्यवाणी गरेन ? त्यहाँ यस्तो घटना हुँदै छ नेपाल फर्क भनेर किन भन्न भन्न सकेन ? अस्ति त्यत्रो भोटेकोशी थुनिएर लाखौँको क्षति भयो । खै त त्यसको भविष्यवाणी गरेको ? कमसेकम यी क्षणहरुमा भविष्यबाणी वा कुनै संकेत दिएर लाखौँ नेपालीको धनजन क्षति हुनबाट जोगाएको भए आज सरकार हैन जनता आफै उसलाई पुजेर राख्थे आफ्नो शिरमाथी !

Aditya Dahal Google Boy

कि उसले सोधेको उत्तर मात्र दिने हो भने, गुगलको अर्थ जे टाईप गर्यो त्यसको उत्तर वा अर्थ आउनु हो । म पनि त्यो गुगल ब्वायको दिमागमा टाईप गरेर सर्च गर्न चाहान्छु, उ जस्तै लाखौँ बच्चाहरु सडकमा अलपत्र परिरहेकाहरुका बाउआमा कहाँ छन ? तिनिहरुको भबिष्य कस्तो छ ? ती पहिरो र भुकम्पमा परेर खुल्ला आकास ओढेर बस्न बाध्यहरुले कहिले राहत पाउँछन ? कहिले आउँछ उनिहरुको जिवनमा हाँसो र खुसी ?

यदि यो उत्तर त्यो गुगल ब्वायबाट पाएँ भने म बरु जिन्दगीभर उसलाई पुज्न, उसको गुलामी बन्न मन्जुर छु ! तर त्यो एउटा प्रधानमन्त्री बन्छ, एउटा देशले फुटबल जित्छ भनेर भनेकै भरमा म कदापि यसलाई गुगल ब्वाय मान्न मन्जुर छैन । बरु यसले गर्दा गुगलकै अपमान भईरहेको छ ।

सरकार ! बरु साँच्चै गुगललाई यति नै सम्मान गर्छौ, गुगल प्रती यति नै बिश्वास छ भने ती आदित्य जस्तै र जत्रै लाखौँ बच्चाहरु सडकका पेटीहरुमा एक छाक अरुको जुठो खाएर बाँच्नेहरुका लागि एउटा स्कुल खोलिदेउ । म त्यहाँ निशुल्क पढाईदिन तयार छु । र त्यहाँबाट बरु निस्किनेछन पछि गुगल ब्वाय हैन गुगल फादरहरु । जसले यस्तो कपिको पानामा एउटा प्रश्नको उत्तर दिएर भबिष्यबाणी गर्ने हैन संसारलाई चुनौती दिने आधुनिक गुगलहरु जन्माउनेछन ।

Aditya Dahal Goole Boy1

बरु यति नै गुगल नाम दिन हतार छ भने त्यो धुर्मुस र सुन्तलीलाई गुगल कपल (जोडी) घोषित गर । जसले पछि सहयोग पाउँछौ भन्ने दृढ भबिष्यबाणी गरेर भुकम्प पिडितहरुको लागी एकीकृत नमुना वस्ती बसाए र बसाउँदैछन र उनिहरुले भबिष्यबाणी गरे जस्तै धेरै सहयोगहरु आईरहेका छन । यदी गुगल नाम दिन हतार नै छ भने ती महावीर पुनलाई देउ । जसले गाउँका कुना कन्दरालाई गुगलसँग जोडेका छन्, तिम्रो सहयोग बिना ।

अन्त्यमा यदि यो गुगल ब्वायको यति नै बिश्वास लाग्छ भने किन आज सरकारमा को जाने कसले छोड्ने भन्ने कुरामा भाडाकुटी र लुकिछिपी खेलेर तमासा देखाउँछौ ? सिधै जाउ र तिमिहरुको गुगल र (गु) ब्वायलाई सोध कसको सरकार टिक्छ ? कसको सरकारले देश विकास गर्छ ? अनि उसले जसको नाम दिन्छ उसैलाई देउ सरकार चलाउन तर हामी जनतालाई जति सक्दो चाँडो एउटा निकास देउ !

नत्र तिमिहरुको थिचाई र पेलाईले म्याग्मा बनिसकेको जनता कुनै पनि बेला ज्वालामुखी बनी विस्फोट भएर तिमिहरुलाई भष्म गराउन पनि सक्छ !
बिचार चोगे !!!

लेखीका राई शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । यो लेख उहाँको फेसबुकबाट साभार गरीएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्