बंगलादेशी तस्करको जालोमा ४६ नेपाली
बंगलादेशी मानव तस्करको जागिरको प्रलोभनमा परी ढाँका पुगेका ४६ जना नेपाली अलपत्र परेका छन् । अलपत्र परेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेश स्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीले जानकारी दिनु भएको छ ।
बंगलादेशी दलालले उनीहरुलाई रेस्टुरेन्टमा जागिर लगाईदिने भन्दै त्यहाँ पुर्याएको थियो । कार्यबहाक राजदुत ओलीका अनुसार अलपत्र परेका नेपालीलाई दलालले जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएको हो ।
बंगलादेशी मानव तस्करले ४६ नेपालीबाट ८० लाख रुपैयाँ उठाएको बताइएको छ । पर्यटक भिसामा बंगलादेश पुर्याइएका उनीहरुको भिसाको म्याद सकिएपछि दलालले वर्किङ भिसा मिलाइदिने भन्दै फसाएपछि उनीहरु गैरकानुनी ढंगले बस्न बाध्य भएका थिए ।
ठगिनेमा नेपालीबाट बिजनेस भिसा लिएर जानेहरु समेत छन् । ढाका प्रहरीले उक्त मानव तस्करलाई पक्राउ गरेको छ । ढाका प्रहरीले नेपालीहरु गैरकानुनी रुपमा बसेको नेपाली दूतावासलाई जानकारी गराएपछि उनीहरुको उद्धार गरिएको थियो । उद्दार गरिएका सबैलाई दूतावासकै रेखदेखमा ढाकामा राखिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्