नक्कली डाक्टर निलम्वन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई बिरामी जाँच्न नदिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ । आइतबार बिहान स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्र उप्रेतीलाई टेलिफोन गरी प्रधानमन्त्री दाहालले छानविनको घेरामा रहेका चिकित्सकहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री दाहालको सचिवालय सदस्य प्रकाशका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीका सचिवालय सदस्य प्रकाश दाहालका अनुसार प्रधानमन्त्रीले स्वास्थ्य सचिव उप्रेतीलाई फोनमा ‘नक्कली भनिएका डाक्टरहरु हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारीमा आएको छ । तपाईंले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस,’ भनेर दिर्नेशन दिनुभएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत गत असारमा पक्राउ गरेका ३७ चिकित्सकलाई मेडिकल काउन्सिलले निलम्बन नगर्दा उनीहरूमध्ये केही नियमित अस्पताल गएर बिरामी जाँच्न थालेका छन् । नेपाल मेडिकल काउन्सिलले हालसम्म उनीहरूको लाइसेन्स निलम्बन नगरेका कारण अदालती कारवाही जारी रहे पनि उनीहरूले बिरामी जाँच्न थालेका हुन् ।
उनीहरूलाई निलम्बन गर्नका लागि मेडिकल काउन्सिलको पूर्ण बैठकले निर्णय गर्नुपर्ने हुन्छ । तर, तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरीले काउन्सिललाई पूर्ण बैठक नबस्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्