सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुढीगण्डकी बनाउन चाइना गेजुवा ईच्छुक (तस्विरसहित)

चाइना गेजुवा ग्रुप कर्पोरेशन (सीजीजीसी) ले १२०० मेघावाटको बुढीगण्डकी जलविद्युत परियोजना निर्माण गर्न आफू इच्छुक रहेको बताएको छ । साथै उसले माथिल्लो त्रिशुली ए परियोजनाको ६५ प्रतिशत काम पूरा भइसकेको जानकारी गराएको छ ।

चाइनिज कम्पनी सीजीजीसीका तर्फबाट पीआर म्यानेजर ओमबन्धु कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘सीसीजीजीसीले हालै नेपाल सरकार र नेपाली नागरिकको विकासको आशा बनेको १२०० मेगावाट क्षमताको जलाशय युक्त बुढीगण्डकी आयोजना निर्माणमा आफ्नो इच्छा प्रकट गरेको छ ।’

कार्कीका अनुसार सन् १९७० मा स्थापित सीजीजीसी चीनको सरकारी स्वामित्वका ठूला संस्थामध्ये पर्छ । सीजीजीसीले विश्वका १ सय ३६ देशमा करिब १ सय ९० वटा विकास आयोजना कार्यान्वय गरेको छ ।

Budhigandaki pariyojana2

५० अर्ब अमेरिकी डलर भन्दा बढीको करारमा संलग्न सीजीजीसी विश्वका उत्कृष्ट २ सय ५० अन्तर्रा्ष्ट्रिय निर्माण व्यवसायीहरुको सूचिमा ४१ औं स्थानमा पर्छ । झण्डै २० खर्ब रुपैयाँ (१९.६ बिलियन अमेरिकी डलर) भन्दा बढी कारोबार भएको सीजीजीसी राजस्वका हिसाबले विश्वको ३३ औं ठूलो निर्माण कम्पनी हो ।

चीनमा रहेको विश्वको सबैभन्दा ठूलो थ्री गर्जेज जलविद्युत आयोजना (२२,५०० मेगावाट) सीजीजीसीले नै बनाएको हो । यसले २० भन्दा बढी जलविद्युत र थर्मल पावर प्लान्टमा लगानी गरेको छ । सीजीजीसीको २० मिलियन मेट्रिक टन उत्पादन क्षमताको सिमेण्ट कारखानासमेत छ ।

Budhigandaki pariyojana

सिन्जियानको हमीमा ६ मिलियन मेट्रिक टन क्षमताको कोइला खानी समेत भएको सीजीजीसी उत्पादन क्षमताको आधारमा चीनको दोस्रो ठूलो नागरिक हितका लागि विष्फोटन सामग्री उत्पादन गर्ने कम्पनी पनि हो । त्यस्तै चीनको केन्द्रिय सरकार मातहतका २१ ठूला रियल स्टेट व्यवसायिक कम्पनी मध्येमा सीजीजीसी पनि एक हो ।

नेपालमा सीजीजीसीले ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणको कामको जिम्मेवारी पाएको छ । अन्र्तराष्ट्रिय प्रतिस्पर्धाका आधारमा यसले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ए आयोजनाको इपीसी निर्माण ठेक्का पनि प्राप्त गरेको छ ।

Budhigandaki Pariyojana1

चमेलियाको सिभिल वक्र्सको काम ९६ प्रतिशत सम्पन्न भइसकेको कार्कीले जनाएका छन् । पहिले पूर्वानुमान समेत नगरिएको सुरुङ्ग साँघुरिने प्रक्रियाको समुचित उपचार खोज्न र त्यसमा लागेको निर्माण सामाग्री र दक्ष जनशक्तिको पारिश्रमिक भुक्तानीको विषय अड्किन गएकाले यो आयोजना सम्पन्न हुन समय लागेकोे उनको भनाइ छ । यो विवाद सुल्झिनासाथ यसको निर्माण छिटो सम्पन्न हुने कार्कीले बताएका छन् ।

Budhigandaki pariyojana3

त्यसैगरी इपीसी करार भएको माथिल्लो त्रिशुली–३ ए को समग्र निर्माण कार्य ६५ प्रतिशत पुगिसकेको समयमा ०७२ बैशाख १२ र २९ गतेको भूकम्पले पहुँच मार्गमा गम्भीर क्षति र्पुयाएकाले काम सुचारु हुन सकेको छैन ।

चीन सरकारको सहुलियत प्राप्त कर्जामा निर्माणाधीन यस आयोजनाको भूकम्पले र्पुयाएको क्षतिको पुनर्निर्माणका विषयमा दुवै देशका जिम्मेवार निकायहरुबीचमा सहमति भइसकेकोले अब छिट्टै निर्माण कार्य सुचारु हुने कार्कीको भनाइ छ ।

नेपालमा गएको विनासकारी महाभूकम्प प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहतकोष मार्फत यस चिनियाँ कम्पनीले एकमुष्ठ दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

यसैवीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सीजीजीसीलाई बुढी गण्डकी निर्माणको जिम्मेवारी दिन लागेपछि विवाद उत्पन्न हुन गई यो विषय संसदीय समितिसम्म पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्