सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उर्जा मन्त्रीले खोले विद्युत आयोजना रोक्नुको रहस्य

उर्जा मन्त्री जनार्दन शर्माले विद्युत आयोजना निर्माणमा अवरोध गर्ने सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । मन्त्री शर्माले भन्नुभयो–‘आयोजना रोक्दा ठेकेदार कम्पनी, यहाँका कर्मचारीलाई पनि फाइदा पुग्दो रहेछ, काम रोकिनुको रहस्य गम्भीर रहेछ, काम अड्काउन अनेक गरिँदो रहेछ, त्यतातिर मेरो ध्यानाकर्षण भएको छ ।’

उर्जामन्त्री शर्माले नेपाली सेनालाई रोजेर एउटा जलविद्युत आयोजना बनाउन आग्रह गरेको बताउनु भएको छ । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले आफुले सेनापतिलाई फोन गरेर एउटा विद्युत आयोजना रोजेर बनाउन आग्रह गरिसकेको बताउनु भएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले भन्नुभयो–‘लगानी देखाएर काम गर्छु भनेर आउनेलाई अब मैले योजना दिने सोच बनाएको छु, काम गर्नुपर्यो, वातावरण बनाउने जिम्मा मेरो हुन्छ ।’ उर्जामन्त्री शर्माले आफ्नो कार्यकालमा उर्जा क्षेत्रमा लगानीको वातावरण बनाउने बताउनु भएको छ ।

Janardan Sharma in press meet

मन्त्री शर्माले निर्माणाधीन आयोजनामा भएका समस्या सुल्झाउने र नयाँ आयोजना निर्माणका लागि लगानी जुटाउने आफ्नो मुख्य उद्देश्य रहेको बताउनु भएको छ । उर्जामन्त्री शर्माले विद्युत आयोजनाहरुको निर्माणमा सकेसम्म नेपाली लगानी जुटाउने र ठूला आयोजनाका लागि विदेशी लगानी समेत भित्र्याउने योजना बनाएको सुनाउनु भएको छ ।

मन्त्री शर्माले चमेलिया, माथिल्लो तामाकोशी लगायतका निर्माणाधीन जलविद्युत आयोजनाको समस्या सल्ट्याउने र काम तीव्र रुपमा गराउने प्रतिवद्धता समेत जनाउनु भएको छ । शर्माले चमेलिया जलविद्युत आयोजनामा रहेको समस्याबारे छलफल गर्न सरोकारवालालाई बोलाएको समेत बताउनु भएको छ ।

त्यसैगरी मन्त्री शर्माले पश्चिम सेती र बुढीगण्डकी परियोजनालाई पनि प्राथमिकताका साथ अगाडि बढाउन पहल गर्ने बताउनु भएको छ । मन्त्री शर्माले अहिले भएकै कर्मचारी र संरचनालाई लिएर काम गर्नुपर्ने हुँदा कुनै चमत्कार भने गर्न नसकिने बताउनु भएको छ । उहाँले उर्जा संकट कार्यान्वयनमा ध्यान दिने र त्यसका लागि आवश्यक नियम कानुन बनाउने कुरामा ध्यान दिने बताउनु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्