अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु
आईतबार दिउँसो यात्रु बोकेको जीप दुर्घटना हुँदा अर्घाखाँचीको हंसपुरमा ११ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी ९ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने २ जनाको उपचारका क्रममा ज्यान गएको हो ।
सन्धिखर्कबाट प्युठानको बाजीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर–५, रतनमाढेमा दिउँसो सवा तिन बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेको जीप पहिरो गएको ठाउँमा सडकबाट सात सय मिटर तल खसेको हो ।
दुर्घटनामा जिप मालिक किमडाँडाका नारायण रानाको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा अधिकांश हंशपुरका रहेका छन् । मृत्यु हुनेहरूमा हंशपुरका रामबहादुर घर्तीमगर, हुमबहादुर राना, भीम केसी, मीनबहादुर केसी र देवबहादुर थापाको रहेको प्रहरीले बताएको छ ।
त्यसैगरी धारापानीकी कमला पौडेल, पुर्कोट दह गुल्मीका भेषबहादुर थापा, गुल्मी भनभनेका बुद्धिराम परियार, बाङ्गेमोरट प्युठानका शोभा रोकामगरको पनि मृत्यु भएको छ । दुर्घटनामा घाईते भएकाहरुको सन्धिखर्कमा उपचार भईरहेको छ ।
जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा ६ जना घाइते भएका र जीपमा १५ जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरी चौकी हंशपुरका सइ श्याम श्रीषले जानकारी दिनुभएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्