साढे १ करोडसहित ८ हुन्डी कारोबारी पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार काठमाण्डौको न्युरोडमा बिभिन्न ब्यापारका नाममा हुन्डी कारोबार गर्नेलाई पक्राउ गरेको छ । प्युखा न्यूरोडस्थित विन्देश्वरी व्याग एण्ड रेडिमेट उद्योग र माई पाथिभरा ट्रेडर्समा छापा मारी हुन्डी कारोबारीलाई पक्राउ गरेपछी अबैध कारोबारको पर्दाफाँस भएको हो ।
प्रहरीले हुण्डीको अबैध कारोबारमा संलग्न भएको आरोपमा एकैदिन ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट प्रहरीले १ करोड ७२ लाख ३७ हजार ५ सय नेपाली रुपैयाँ र एक लाख भारतीय रुपैयाँ पनि बरामद गरेको छ ।
अपराध महाशाखाका अनुसार न्यूरोडस्थित अनु ट्रेडिङका सञ्चालक पवनकुमार अग्रवाल ६३ लाख ५० हजार नगद सहित पक्राउ परेका छन् । उनको घर भारतको राजस्थान हो ।
यस्तै सिरहाको बरियापट्टिका मोहनमान श्रेष्ठले ‘विन्देश्वरी ब्याग एण्ड रेडीमेड उद्योग’ नामक बोर्ड राखेर भित्र हुन्डी कारोबार गर्ने गरेको प्रहरीको भनाई छ । उनको साथबाट दश लाख नेपाली रुपैयाँ तथा १ लाख भारतीय रुपैयाँ बरामद गरिएको छ । त्यस्तै विभीन्न बैंकका ४९ थान चेकबुक श्रेष्ठको ब्याग पसलमा फेला परेको थियो । उनको ब्याग पसलमा हुण्डी कारोवार गर्न पुगेका नुवाकोट चौघडा गाविसका कुमार राईको साथबाट १८ लाख बरामद भएको छ ।
माई पाथिभरा ट्रेडर्सका सञ्चालक झापा शनिअर्जुन नगरपालिका–९ घर भएका निर्दोष प्रसाईं पनि पक्राउ परेका छन् । निर्दोष नाम भएका प्रसाईँको साथबाट १९ लाख १७ हजार ५०० र विभिन्न बैंकका १० थान चेक बरामद भएको छ । पक्राउ परेकाहरुलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।
माई पाथिभरा ट्रेडर्समा कारोबार गर्न आएका सिन्धुपाल्चोक बाह्रविसेका राजन पौडेल ३२ लाख ५० हजार, रामेछाप प्रितीका टलबहादुर तामाङ ११ लाख ५० हजार, झापा राजगढ ६ का अमित खरेल १२ लाख र दमकका रोहित दुलाल ५ लाख १६ हजार सहित पक्राउ परेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्