सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खुलासा भयो भारतको खतरनाक गेम प्लान

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि भारत नेपालमा आधिपत्य जमाउनेगरी तरंग ल्याउने तयारीमा रहेको खुलासा भएको छ । भारतीय संस्थापन निकट पत्रिका ‘द हिन्दु’को सहप्रकाशन विजनेश लाइनले यो रहस्य सार्वजनिक गरेको हो ।

प्रतिम रञ्जन बोसले लेखेको सो समाचारमा नेपालको संविधान संशोधन कठीन रहेकाले एमालेमा विभाजन ल्याउने योजना रहेको समेत उल्लेख गरिएको छ । समाचारमा उल्लेख भए अनुसार भारतले नेपाली राजनितिमा आफ्नो आधिपत्य जमाउन युद्धकालीन मुद्दालाई मुख्य हतियार बनाएको छ ।

पत्रिकाले नेपालका लागि पूर्व भारतीय राजदूत जयन्त प्रसादको संस्था इन्ष्टिच्युट अफ डिफेन्स स्टडिज एनालाइसिसका अनुसन्धानदाता निहार नायकको भनाई उद्धृत गरेको छ ।

ओली नेतृत्वको सरकार हटाउन सरकारमा सहभागि माओवादी नेताहरुलाई राष्ट्रसंघको उच्चायुक्त कार्यालयमार्फत युद्धअपराधका मुद्दामा कारवाही गर्न भारतले अन्तराष्ट्रिय मञ्चहरुमा लबिङ गरेको थियो । अहिले माओवादी आफ्नो पकडमा आएकाले युरोप र अमेरीका लगायतका अन्तराष्ट्रिय मञ्चहरुमा युद्धअपराध सम्बन्धी मुद्दामा भारत मौन रहने नायकको भनाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ ।

पत्रिकाले लेखेको छ–‘प्रधानमन्त्री दाहालको भारत भ्रमणको दुई हप्ता अगाडि नै दिल्लीले काठमाडौंमा आफ्नो आधिपत्य जमाउने मनस्थिति बनाएको छ । नयाँ दिल्लीले नेपाली राजनीतिमा सुक्ष्म ब्यवस्थापन गर्न चाहेको छ ।’

प्रधानमन्त्री दाहालको भारत भ्रमणका दुई एजेण्डा रहेको पत्रिकाले उल्लेख गरेको छ । पहिलो युद्धकालीन समयमा भएका मानवता बिरोधि अपराधमा मुछिएका माओवादी नेताहरुको चिन्ताको समाधान खोज्ने र दोस्रो भारतीय चाहना बमोजीम संविधान संशोधन गर्ने ।

Prachanda and india

माओवादी नेताहरुको चिन्ताको समाधानका लागी नेपाली सेनालाई पनि तान्ने भारतको गेम प्लान रहेको छ । युद्धकालीन अपराधमा सेनालाई तान्दा कांग्रेस नेतृत्वको पनि स्वार्थ गाँसिएकाले आममाफीको वातावरण बनाउन सहज हुने भारतको बुझाई छ ।

पत्रिकाले लेखेको छ–‘तत्कालीन युद्धताका भएका मानवता विरोधी अपराधको समाधान गर्ने सन्दर्भमा नेपाली कांग्रेस र नेपाली सेनाको ठूलो स्वार्थ गाँसिएको छ । अहिलेका सत्ता साझेदारहरु युद्धकालीन मुद्दाका अपराधलाई आम माफी दिन भारतले अमेरिका र युरोपियनबीच मध्यस्थता गरोस् भन्ने चाहन्छन् ।’

प्रधानमन्त्री दाहालले पनि कांग्रेस र नेपाली सेनाको नेतृत्वसँग कुरा गरी अमेरिका र युरोपियन देशहरुसँग आममाफीका लागी लविङ गरीदिन भारतसँग आग्रह गरेको समाचारमा उल्लेख छ । दाहालको प्रस्तावलाई स्वीकार गर्दै भारतले मधेशी दलको माग बमोजीम संविधान संशोधन गर्नुपर्ने सर्त अगाडी सारेको बताईएको छ ।

 

उक्त पत्रिकाले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले चाहे जसरी संविधान संशोधनको प्रस्ताव संसदमा राख्ने तर, त्यसका लागि आवश्यक दुई तिहाइ मत जुटाउन राप्रपा नेपाललाई सरकारमा ल्याउने वा एमालेलाई विभाजन गर्ने योजना रहेको पनि उल्लेख गरिएको छ ।

प्रदेशका सीमाना परिवर्तन गर्ने र राष्ट्रिय सभामा समानुपातिक प्रतिनिधित्वको मुद्दालाई समावेश गरी संविधान संशोधन प्रस्ताव ल्याउन दाहाललाई भनिसकिएको समाचारमा उल्लेख छ ।

विजनेस लाइनमा प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुस ।

Business Line news about nepal

फेसबुकबाट कमेन्ट गर्नुहोस्