सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

के थियो ? महतले सुस्मालाई दिएको थैलीमा

हाम्रा देश चलाउने नेताहरुको ढंग, व्यवस्थापकिय क्षमता र कुटनितिक सभ्यता दिल्लीमा रातो थैलीले छर्लङ्ग पारीदिएको छ । प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको पुर्व तयारी गर्न दिल्ली पुग्नु भएका परराष्ट्र मन्त्री प्रकाशशरण महत र समकक्षी सुष्मा स्वराजबीच भएको भेटघाटको दृश्य आश्चर्यलाग्दो देखिएको थियो ।

दुई देशका परराष्ट्र मन्त्री जस्तो गरिमामय पदमा आसीन व्यक्तिहरुको भेटमा सामान्य मर्यादालाई पनि ख्याल नगरीएको दृश्यले नेपालको कर्मचारीतन्त्र र नेतृत्वको क्षमता प्रस्ट भएको छ । परराष्ट्र मन्त्री महतले समकक्षिका अगाडि बच्चाले जसरी रातो थैली यसरी कोट्याउँछन कि, जुन दृश्य हेर्दा सामान्य सभ्यतालाई पनि ख्याल गरेको देखिँदैन ।

परराष्ट्र मन्त्री महतले सुस्मा स्वराजसँग औपचारीक संवाद थाल्नुपुर्व आफूसँगै गएका अधिकारीसँग ‘त्यो छ’ भनेर सोधेको कुरा भिडियोको दृश्यमा सुनिन्छ । नेपाली अधिकारीले रातो थैली दिएपछी परराष्ट्र मन्त्री महतले कुप्री परेर रातो थैलीबाट सानो बट्टा निकालेर ‘म्याडम’ भन्दै समकक्षि स्वराजको छेउमा पुगेको देखिन्छ ।

prakashsharan-mahat-and-sushma-sworaj

मन्त्री महतले सुष्मा स्वराजको हातमा पुगिसकेको बट्टा पनि खोलेर ‘प्रसाद हो’ भनेर जानकारी गराएको देखिन्छ । सङ्गै रातो थैली पनि समकक्षि सुष्माको हातमा थमाइन्छ । सुष्माले ‘माला’ भनेको सुनिन्छ र त्यसलाई फेरि उही थैलीमा राखेर सहयोगीलाई थमाईन्छ । उपहार आदानप्रदानको यो दृश्य हेर्नलायक देखिन्छ ।

सामान्यतया उच्चस्तरीय भेटका क्रममा नेपाली कलाकृति र मौलिक संस्कृतिसँग जोडिएका कुरा उपहार दिने चलन छ । यसपालि भने परराष्ट्र मन्त्री महतले भारतीय समकक्षिलाई रातो थैलीमा के उपहार दिनुभएको थियो भन्ने कुराले भिडियो हेर्ने धेरैलाई कौतूहल बनाएको थियो ।

खासमा थैलीमा पोको पारेर लगिएको त्यो उपहार कुनै महँगो वस्तु नभई पशुपतिनाथको प्रसाद भएको भेटघाटमा संलग्न एक अधिकारीले बताएका छन् । पशुपतिनाथको नेत्र चन्दन र रुद्राक्षको मालालाई चाँदीको सानो भाँडोमा राखेर नेपाली शैलीमा बुनिएको रातो थैलीमा पोको पारिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्