गायक सुनिल बर्देवाको असामयीक निधन
एक ताका संगितबजारमा राज गरेको ‘गोरेटो अनि उस्तै छ गल्ली’ गितका सर्जक सुनील बर्देवाको असामयीक निधन भएको छ । गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको मंगलबार साँझ निधन भएको हो ।
जन्डिसबाट पीडित गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । आफन्तजनले बताए अनुसार बिहान खाना खाँदासम्म उनी ठिकै थिए ।
आफ्नो समयका चर्चित पप संगीतकर्मी बर्देवाका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म निद्रामा हुन्छु लगायतका थुप्रै गीत निकै चर्चित छन । बर्देवा प्रशंसकमाझ गायक र संगीतकारका रुपमा परिचित हुनुहुन्छ ।
पप गीतहरुमा संगित संयोजन गर्ने बर्देवा गित पनि लेख्नुहुन्थ्यो । गोरेटो अनि उस्तै छ गल्ली सुनील बर्देवाले नै लेख्नुभएको थियो । दर्जनौँ गीतमा शब्द, संगीत, गितारवादन, एरेन्ज दिनुभएका बर्देवा हाल नयाँ एल्बमको तयारीमा जुट्नुभएको परिवारजनले बताएका छन ।
‘मेट्रिक्स’ नामक ब्यान्डबाट गाउन सुरु गर्नुभएका बर्देवाले साठीको दशकमा चर्चित नवीन के भट्टराई, निमा रुम्बा लगायत पप गायकका अधिकांश गीत एरेन्ज गर्नुभएको थियो । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’ लगायतका गीति एल्बम बजारमा निस्किएका छन् ।
बर्देवाका एक छोरा र एक छोरी छन् । उहाँको श्रीमतिको दुई बर्ष अघि नै निधन भइसकेको छ । छोरा सानै छन् भने छोरी चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छिन । प्रज्ञा प्रतिष्ठानमा श्रद्धान्जली दिईसकेपछी बर्देवाको आजै दाहसंस्कार गरिनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्