सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतलाई परमाणु बमले उडाउने पाकिस्तानको धम्की

काश्मीर स्थित भारतीय सेनाको मुख्यालय उडीमा १८ सैनिक मारिनेगरी भएको आतंकवादी आक्रमण पछि उत्पन्न तनावले भारत र पाकिस्तान युद्धको तयारीमा जुटेका छन् । भारतले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानलाई आतंककारी राष्ट्र घोषणा गर्न दस्ताबेज नै पेश गरेपछि पाकिस्तान भारतसँग झनै चिडिएको छ ।

सोही महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाफ शरिफले काश्मिरको लडाई स्वतन्त्रताका लागि भएको र यसमा पाकिस्तानले सँधै साथ दिने बताएका थिए । उनले भारतले काश्मिरका युवा नेता बुरान वानीलाई मारेपछि काश्मिरमा दंगा भड्किएको भन्दै यसको सम्पूर्ण जिम्मा भारतले लिनुपर्ने बताएका थिए ।

pakistan-air-force

पाकिस्तानी लडाकु विमान 

यसको परिणाम स्वरुप पाकिस्तानले इस्लामाबादमा लडाकु विमान उडाउँदै युद्ध तयारी थालको बिबिसीले जनाएको छ । पाकिस्तानको जियो न्युजका सम्पादक हामिर मिरको ट्विटलाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुलेब भनेका छन–‘पाकिस्तानले भारतसँगको युद्धको तयारी स्वरुप आफ्नो लडाकु विमान एफ–१६ इस्लामावादको आकाशमा उडाएको छ ।’

पाकिस्तानि सञ्चार माध्यमहरुले सैनिक अधिकारीलाई उदृत गर्दै युद्धको तयारी भैरहेको र सर्वसाधारणलाई सुरक्षित र ढुक्ककासाथ रहन आग्रह गरेका छन् । यसअघि पाकिस्तानका रक्षा मन्त्री ख्वाजा असिफले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै आफूहरु कसैको इसारामा नचल्ने र आवश्यक परे परमाणु हतियार प्रयोग गर्ने बताएका थिए ।

यता भारतले पनि युद्धको तयारी थालेको भारतीय संचारमाध्यमले जनाएका छन् । युद्धको तयारी स्वरुप भारतीय सेनाले पाकिस्तानको सिमाना नजिकै अत्याधुनिक हातहतियार थुपार्न थालेको छ । भारतीय सेनाले आफ उडी क्षेत्रमा भएको हमलाको बदला लिन आतुर रहेको बताएको छ ।

indian-air-force

ईन्डियन लडाकु विमान

भारतले पाकिस्तानको सीमा नजिक बोफोर्स तोपलाई तयारी अवस्थामा राखेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार भारतीय सेनाले कश्मीरसँग सिमा जोडिएको पाकिस्तानी नाकामा लामा र ठूलो दूरीका रकेट लन्चर पनि तयारी अवस्थामा राखेको छ ।

भारत सरकारले सीमानामा उच्च सुरक्षा सर्तकता बढाउन सेनालाई निर्देशन दिईसकेको छ । भारतले सीमा क्षेत्रमा सेनाको संख्या बढाउने बताइसकेको छ । केही दिन अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षा मन्त्रालय तथा सेनाका उच्च अधिकारीहरुसँग करिब दुई घण्टा गोप्य बैठक गरेको समाचार बाहिर आएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्