विदेशबाट फर्कँदा भन्सार नलाग्ने सामान (सुचीसहित)
दशैंतिहार नजिकिँदै गर्दा विदेशबाट घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । पैसा कमाउन घरबाट पराई मुलूक पुगेकाहरु लामो समयपछी दसैँ तिहारको मुख पारेर स्वदेश फर्कने तयारी गरिरहनुभएको छ होला !
विदेशबाट फर्कँदा छोराछोरी, घरपरिवार, आफन्तजन र साथीभाईले उपहार र कोशेलीको माग गर्नु स्वभाविक नै हो । स्वदेश फर्कँदा कुन सामानमा भन्सार लाग्छ, कुन सामानमा भन्सार लाग्दैन भन्ने कुराले अलमल बनाएको हुनसक्छ ।
गत साउन १ गते देखि विमानस्थलमा सरकारले नयाँ भन्सार निती लागु गरेको छ । विदेशबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामाग्री ल्याउने चलन हुन्छ । अहिले विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा परिवर्तन गरिएका छन् । विदेशबाट फर्किनेहरुले त्यसबारे जान्नैपर्छ ।
प्रतिबन्धीत सामान ल्याएमा जफत हुनसक्छ भने तोकेको भन्दा धेरै सामान ल्याए महंगो भन्सार तिर्नुपर्ने हुनसक्छ । गत साउनबाट सरकारले नयाँ झिटीगुन्टा आदेश मार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ ।
काँचो सुन (ढिक्का) ल्याउँदै नल्याउनुहोस्;
अहिले विदेशबाट आउँदा त्रिभुवन विमानस्थलबाट काँचो सुनचाँदी (ढिक्का सुन) लिएर आउन पाइँदैन । बनिसकेका सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्रामसम्म भने ल्याउन पाईन्छ । यसमा कुनै भन्सार लाग्दैन ।
पछिल्लो समय बैंकहरुले १०० ग्रामको ढिक्का सुन ल्याउन पाउने व्यवस्था बारेको खबरले धेरैलाई अलमलमा पारेको छ । त्यो बैंकका लागि मात्रै हो, व्यक्तिले काँचो सुन विदेशबाट ल्याउनै पाउँदैन ।
विदेशबाट आउँदा भन्सार नलाग्ने सामान
दशैंमा विदेशबाट महंगा र ब्राण्डेड रक्सी ल्याउने चलन छ । यसअघि २ लिटर सम्म मदिरा ल्याउन पाईन्थ्यो भने यो बर्षदेखि १ लिटर मात्रै ल्याउन पाईने व्यवस्था लागु गरिएको छ । तोकेको भन्दा धेरै परिमाणमा रक्सी बोक्नुभयो भने समस्या हुनेछ ।
यस्तै ल्यापटप र कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन र पेन ड्राइभ १–१ थान ल्याउँदा भन्सारमा पुरै छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १–१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।
वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्च सम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । तर, विदेशमा कामका लागि नगएका र १ वर्ष नबिताएकाले टिभी ल्याउन पाईँदैन । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ ।
डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १–१ थान ल्याउँदा भन्सार तिर्न पर्दैन ।
निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउदा पनि भन्सार लाग्दैन् । ठूलो परिमाणमा भने यी वस्तु पनि ल्याउन पाइँदैन ।
औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार लाग्दैन । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।
४० प्रतिसत भन्सार तिरेर ल्याउन पाईने सामानको लिस्ट
केही सामानहरुमा परिमाण बढी भएपनि एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिरेर सामान ल्याउन पाउने नयाँ व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो १–१ थान ल्याउन सक्छन् । यी सामानमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ ।
३२ इन्च भन्दा ठूलो टिभी ल्याएमा भने इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन । १० किलोग्रामसम्म खाद्य सामग्री पनि ल्याउन पाइन्छ तर यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ ।
१५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका सामान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर ल्याउन पाईन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यास टेबुल, इस्त्री, राइस कुकर २–२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।
व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २–२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाईन्छ । चुरोट पनि दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म समदरमा ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाईन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्